बेलबारीः मोरङको सुनवर्षी नगरपालिका–९, मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा ४ जनाको ज्यान गएको छ ।
सेफ्टी ट्याङ्की बनाउँदै जाने क्रममा ट्याङ्कीभित्र पसेका चारै जनाको मृत्यु भएको हो । ‘पहिले १ जना पसेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी तथा प्रवक्ता घनश्याम श्रेष्ठले भने, ‘पस्नेबित्तिकै अक्सिजन कमी भयो र साथीहरूलाई बचाउने क्रममा चारै जनाको मृत्यु भएको हो ।’ अक्सिजनको कमीका कारण चारै जना ढलेको अवस्थामा फेला परेका र उनीहरूलाई तत्काल त्यहाँबाट निकालेर विराटनगर ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
ज्यान गुमाउनेमा सुनवर्षी नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय मोहम्मद कपिल आलम, १९ वर्षीय सहनवाद आलम, २२ वर्षीय मोहम्मद ओसिब आलम र २५ वर्षका फिरोज आलमे रहेको डीएसपी श्रेष्ठले बताए । दाउत मियाँ भने रङ्गेली अस्पतालमा उपचार गरी घर फर्किसकेका छन् ।
अधिकांशको अक्सिजनको अभावको कारण ज्यान गएको हुन सक्ने डीएसपी श्रेष्ठले जानकारी दिए । यद्यपि मृत्युको कारण नखुलेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।