धरानः राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर शनिबार देशैभर वृक्षारोपण गरिएको छ । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवस मनाउने निर्णय गरेपछिको यो पहिलो वृक्षरोपण कार्यक्रम हो ।
सरकारले असार १४ गते देशभरमा ५ लाख बिरुवा रोप्ने लक्ष्य राखेको थियो । यो कार्यक्रम वर्षभर चल्ने बन मन्त्रालयले जनाएको छ । बनमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १ वर्षभित्रमा ५ करोड बिरुवा रोप्ने लक्ष्य रहेको बताए ।
अभियानलाई साथ दिँदै विभिन्न क्षेत्रको अगुवाइमा देशैभर वृक्षरोपण भएको छ । नेकपा सम्बद्ध आदिवासी जनजाति मोर्चा र त्यसका घटक सङ्गठनले पनि काठमाडौंका विभिन्न ठाउँमा वृक्षरोपण गरेको छ । नेकपा १ नम्बर प्रदेशका सदस्य तथा लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष मुक्साहाङ मेन्याङ्बोको अगुवाइमा ललितपुरको सातदोबाटोको स्वीमिङ पुलबाट ताल्चिखेलसम्म ५ सय बिरुवा रोपिएको छ ।
मेन्याङ्बोले मोर्चाको तर्फबाट १ नम्बर प्रदेशमा वृक्षरोपणको नेतृत्व गर्ने पनि बताएका छन् । ‘सरकारले शुरु गरेको यो कार्यक्रम सफल बनाउन प्रदेश नम्बर १ मा अगुवाइ गर्छु ।
उनले नेपाललाई एभर ग्रीन (सधैँ हरियाली) बनाउने महाअभियान शुरु भइसकेको पनि बताएका छन् । ‘सबैले आआफ्नो ठाउँमा यसको नेतृत्व गर्नुपर्छ । म प्रदेश नम्बर १ बाट यसको नेतृत्व गर्छु’, उनले भने, ‘नेपाल सधैँ हरियाली हुनुपर्छ ।’