बेलबारीः बेलबारी आइडल २०७६ को उपाधि बेलबारी–४ का विवश मोतेले जितेका छन् । १० जना प्रतिष्पर्धीलाई पछि पार्दै मोतेले पहिलो आइडलको उपाधी हात पारेका हुन् । उनले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रका साथै गीत रेकर्डिङको अवसर पाएका छन् ।

‘आऊ गाऊँ, पहिचान बनाऔंँ’ भन्ने नारासहित स्रष्टा समाज बेलबारीले आयोजना भएको आइडलको सह विजेतामा बेलबारी– ३ की लक्ष्मी पौडेल भएकी छिन् । सह विजेता पौडेलले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाइन् । त्यस्तै बेलबारी–२ की अलिमा लिम्बू आइडलको उपविजेता बन्दै १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन् । सहविजेता र उपविजेताले पनि गीत रेकर्डिङको अवसर पाउनेछन् ।

बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताका विजेता तथा उपविजेतालाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्राज्ञ तथा सङ्गीतकार राम धामी, सङ्गीतकार भीम बस्नेत, पूर्व सांसद तथा गायिका मधु गुरुङ, गायक किशोर थुलुङ र सङ्गीतकार शेखर थापा मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

बैशाख १८ र २१ गते वडावडामा भएको पहिलो अडिसनबाट २७ जना छनोट भएका थिए । दोस्रो चरणमा जेठ २५ गते भएको दोस्रो अडिसनबाट उत्कृष्ट १० जना छनोट भएका थिए । उत्कृष्ट १० जनालाई १ महिने प्रशिक्षणसमेत दिइएको थियो । प्रशिक्षण पाएका उत्कृष्ट १० जनाले फाइनलमा प्रतिष्पर्धा गरेका थिए ।