इनरुवाः सुनसरीका सरोकारवालाहरूले समन्वयको अभावमा स्थानीय तहको कामकार्वाही र विकासमा समस्या देखिएको बताएका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको सङ्घ, प्रदेश र स्थानीय तहबीचमा समन्वयको आवश्यक र चुनौती विषयक गोष्ठीका सरोकारवालाहरूले समन्वयको अभावमा स्थानीय तहमा समस्या देखिएको बताएका छन् ।
कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विकासका लागि केन्द्रबाट उपेक्षामा परेको र प्रदेशले समेत पर्याप्त समन्वय नगर्दा स्थानीय तहमा विकास निर्माण र अन्य कार्यसम्पादनमा समेत समस्या देखिएको बताए । स्थानीय सरकार गाउँगाउँमा आएको भनिए पनि धेरै अधिकारहरू सङ्घमा रहेको अध्यक्ष अन्सारीको भनाइ थियो ।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले नागरिकप्रति जवाफदेही र सुशासनयुक्त सरकार बनाउन चाहेको भए पनि ३ तहको सरकार र स्थानीय तहका कर्मचारीका बीचमा पनि समन्वयको अभाव रहेकाले काम गर्न समस्या भएको बताए ।
काठमाडौंको सिभिल मिडिया सर्भिसको सहकार्यमा देवानगञ्ज गाउँपालिकामा भएको कार्यक्रममा प्रदेश नम्बर १ का सांसद जयराम यादव, सङ्घीय सांसद सीताराम मेहता, पूर्व सभासद सविता यादव, प्रदेश सभा प्रमुख सचिव सुरेश अधिकारी, गोपालप्रसाद पराजुलीलगायतले आफ्नो धारणा राखेका थिए ।