बेलबारीः मोरङको सुनवर्षी नगरपालिका—९ मा बन्दै गरेको मुस्लिम समुदायको प्रार्थना गर्ने स्थानको सेफ्टी ट्याङ्कीको फर्मा खोल्ने क्रममा ४ जना मजदुरको ज्यान गएको घटनामा शोक प्रकट गर्दै सुनवर्षी नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । सोमबार कार्यापालिकाको बैठक बसी मृतकका परिवारलाई राहत दिने मेयर कालिप्रसाद दासले बताए ।
शनिबार डायनियाँमा सेफ्टी ट्याङ्कीको फर्मा खोल्न पसेका ६० वर्षीय मोहम्मद कपिल आलम, १९ वर्षीय सहनवाद आलम, २२ वर्षीय मोहम्मद ओसिम आलम र २५ वर्षका फिरोज आलमको मृत्यु भएको थियो । घाइते भएका दाउत मियाँ भने रङ्गेली अस्पतालमा उपचार गरी घर फर्केका छन् ।
मोहम्मद कपिल र फिरोज बाबु छोरा हुन् । ‘छोरासहित अन्य ३ जना पहिले पसेका रहेछन्’, मेयर दासले भने, ‘१२ मिटर जति गहिरो ट्याङ्कीबाट धेरै बेरसम्म अरु ननिस्किएपछि कपिल पनि पसेका रहेछन् ।’ ढलाइ सकेपछि फर्मा खोल्न गएका चारै जनाको अक्सिजनको अभावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँसको भ¥याङ लगाएर उनीहरू फर्मा खोल्न भित्र पसेको बताइएको छ । मृत्यु भएका सबैको मुस्लिम धर्म परम्पराअनुसार आइतबार सुनवर्षी–९ मा दाहसंस्कार गरिएको वडाध्यक्ष कमलकिशोर सिंहले बताए । सुनवर्षीको वडा नम्बर ९ शोकमा डुबेको वडाध्यक्ष सिंहले बताए ।