विराटनगरः विराटनगरमा सोमबारदेखि १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ आयोजना हुने भएको छ ।
सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको संयोजनमा हुने २ दिने शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
काठमाडौंपछि विराटनगरमा हुन लागेको मेलामा भारतका नाम चलेका करिब ३० ओटा विश्वविद्यालयसहित एक प्रतिनिधि मण्डलका सदस्यहरूको सहभागी हुने सेप मिडियाका निर्देशक सञ्जय थापाले जानकारी दिए ।
विद्यार्थीले निःशुल्क रूपमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मेलाको अवलोकन गरी शैक्षिक परामर्श लिन सक्ने व्यवस्था गरिएको थापाले जनाए । एसआरएम, भीआईटी, एमीटी, अमृता, जैन, किट शारदाजस्ता धेरै नाम चलेका शैक्षिक संस्था मेलामा सहभागी हुनेछन् ।
मेलामा करिब २ हजार विद्यार्थी सहभागी हुने आयोजकको अपेक्षा रहेको थापाले बताए । मेलामा गायक प्रीतम आचार्यलाई सम्मान पनि गरिने भएको छ । इटहरीका उनी रियालिटी शो ‘सारेगमप लिटल च्याम्स २०१९’ मा सेकेण्ड रनरअप भएका थिए ।