धरानः बौद्ध धर्मावलम्वीहरूले विशेष रूपले मानिआएको सागादावाको विशेष तिथि तथा औंशीको अवसर पारेर धुईज्योम तेसार ठोमाको एक महिने पूजा–अर्चना सम्पन्न भएको छ ।
सो पूजा पेमा छ्योखोरलिङ पाठशालाका आङी समूहको आयोजनामा भएको हो । हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्वा, धरान ८ का खेन रिन्पोछे तेन्जिन वाइबा एवम् नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको विशेष उपस्थितिमा पूजाको समापन भएको थियो ।
वर्षमा एकपल्ट गरिने यो पूजा समस्त प्राणी जगतको कल्याण तथा पापबाट मुक्ति तथा बलि चढाइएका एवम् दिवङ्गत समस्त प्राणीको मुक्ति र पुण्य प्राप्तिका लागि गर्ने गरिन्छ । पूजाका लागि आवश्यक सहयोग समाजसेवी देवराज पाख्रिन तामाङले धरान १९ स्थित आफ्नै घरमा उपलब्ध गराएका थिए ।
२ वर्ष अघि सञ्चालनमा आएको पाठशालाका संयोजक खेन्पो तेन्पा धर्गे र काठमाडौंको धुइज्योम गोन्पाका दोर्जे लोपेन पेमा ध्योडागले ३५ जना आङीहरूलाई २ वर्ष विशेष प्रशिक्षण दिएका थिए । आङी समूहकी सचिव तारा बम्जन अनिवार्य गर्नुपर्ने पूजा–पाठ तथा पाठशालाको व्यवस्थापन र निरन्तरताका लागि सम्बन्धित निकायबाट आवश्यक बजेट एवम् सहयोग उपलब्ध हुनुपर्ने बताउँछिन् ।