विराटनगरः विराटनगरको ओबी मिडिया प्रालिले आठौं वर्षमा प्रवेश गरेको अवसरमा नयाँ योजना अघि सारिएको छ । ओबी मिडियाले अनलाइन सपिङको लागि ओबी पसल सञ्चालन गर्ने तयारी थालेको ओबी मिडियाका कार्यकारी निर्देशक विवेक दाहालले बताए । उनका अनुसार मिडियालगायत प्रोफेसनल कोर्ष सञ्चालनको लागि ओबी लर्निङ स्टुडियो सञ्चालनको तयारी समेत भइरहेको छ ।

कार्यक्रममा आवर विराटनगर डट नेटको नयाँ वेबसाइटसमेत सञ्चालन भएको छ । ओबीका सञ्चालक सरोज कार्की, सरोज लम्साल, गोकुल कार्की, विवेक दाहाल, सुमन सुस्केरा र प्रेम देवानले नयाँ वेबसाइटको शुभारम्भ गरेका थिए । नयाँ वेबसाइट म्यागजिन फम्र्याटमा रहेको ओबीका सञ्चालक सरोज लम्सालले बताए ।

आवर विराटनगरका सम्पादक सुमन सुस्केराले तत्कालै विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको ओबीले आगामी दिनमा खोजमूलक समाचारलाई प्राथमिकतामा राख्ने बताए ।