बेलबारी: डेगु रोग प्रभावित सुनसरी र मोरङका पालिकाहरूमा इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थाल्ने भएको छ ।स्वाथ्यकर्मी सहितको टोलीले लार्भा नष्ट गर्ने महाशाखाले बेलबारीमा जनप्रतिनिधि तथा सरोकारवालालाई जानकारी गराएको छ ।

'शनिवार देखी लार्भा नष्ट गर्न थाल्छौ' महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले भने 'बेलबारीले पहिलो चासो देखाएका कारण थालेका हौ ।' डेंगु फैलाउने एडिस एजिप्टाई जातको लामखुट्टेको जीवन चक्र पुरा हुन रोकियो भने लामखुट्टे उत्पादन नहुने र यसले डेंगु सङ्क्रमण पनि रोकिने भएकाले अभियान सञ्चालन गर्न लागिएको कोइरालाले जानकारी दिए । ४ दिन सम्म चल्ने अभियानमा डेंगुबाट जोगिने उपायबारे चेतना फैलाउने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने तरिका समेत सिकाइने जानकारी दिए ।

बेलबारीका स्वास्थ्यकर्मी सहितको विशेष टोलीले जनप्रतिनिधिसँग समन्वय गरेर वडामा खटिने बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले पनि जानकारी दिएका छन् । उनले यस अघि नै बेलबारीमा अभियान सहित लामखुट्टे विरुद्धको विषादी समेत छिन्ने काम भइसकेको बताए ।

एडिस एजिप्टाई लामखुट्टेले प्राय दिउँसो टोक्ने भएकाले टोकाइबाट जोगिन पुरा बाहुला भएको र शरीर ढाक्ने कपडा लाउन, लामखुट्टेले नटोकोस भनेर शरीरमा मल्हम लगाउन, दिउँसो सुत्दा पनि झुल टाँगेर सुत्न स्वास्थय कर्मीको सुझाव रहेको छ । सफा पानी जमेको स्थानमा लामखुट्टेको जीवन चक्र पुरा हुने भएकाले टायर,बट्टा भाँडाकुँडामा पानी जम्न नदिने र पानी प्रयोग हुने स्थलमा हप्तामा दुई पटक पानी फेर्न, खाल्डाखुल्डी पानी जम्ने स्थलमा मट्टितेल छर्कने जस्ता उपाय गर्न सकिने कोइरालाले जानकारी दिए ।
डेग नियनत्रणका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू गरिरहेको उपमेयर ढाका कुमारी पराजुलीले बताइन ।