धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेक्युरिटी गार्डको टेण्डरको विषयलाई लिएर प्रतिष्ठानका कर्मचारीसहित पदाधिकारीलाई विभिन्न समूहले धम्की दिने गरेको खुलासा भएको छ ।

प्रतिष्ठान स्रोतका अनुसार टेण्डरमाथि परेका निवेदन मूल्याङ्कनको क्रममा रहेको हुनाले सेक्युरिटीको टेण्डर आफूनिकटको कम्पनीलाई दिन विभिन्न समूहले फोन गरेर धम्की दिने गरेको प्रतिष्ठानका एक अधिकृतले जानकारी दिए ।

प्रतिष्ठान स्रोतका अनुसार ती समूहले उपकुलपति, निर्देशकसहित खरीद शाखा र मूल्याङ्कन समितिका सदस्यलाई फोन गरेर धम्कीपूर्ण भाषा बोल्ने गरेका छन् । धरानभित्र र बाहिरका समूहले फोन गरेर आफूनिकटको कम्पनीलाई टेन्डर दिने निर्णय गर्न दबाब दिइरहेको ती अधिकृतले बताए । ‘हामी फियर हिसाबले कामगर्न खोज्दै छौँ’, उनले भने,‘तर, यहाँ त्यसरी काम गर्ने वातावरण नै छैन ।’

टेण्डरको निर्णय गर्न दबाब र धम्की आउन थालेपछि मूल्याङ्कन समितिले सम्पूर्ण फायलहरू उपकुलपतिकोमा पठाएको छ । अब कुन कम्पनीलाई टेण्डर दिने भन्ने निर्णय उपकुलपतिले गर्ने स्रोत बताउँछ ।

पछिल्लो समय प्रतिष्ठानको सुरक्षाका लागि टेण्डर लिएर काम गर्ने कम्पनीहरूले राम्रोसँग काम गर्न नसकेको, प्रतिष्ठानभित्र असुरक्षा बढेको, सेक्युरिटी गार्डहरूले नै बिरामीसँग औषधीको दलाली गर्ने गरेको र कम अनुभव भएका कम्पनीहरूबाट राम्रो काम हुन नसकेको भन्दै आलोचना पनि हँुदै आएको छ ।

अबको टेण्डरमा कार्य सम्पादनको राम्रो अनुभव भएको र सेक्युरिटी गार्डहरूलाई साधन स्रोतसहित तालीम दिन सक्ने तथा सरकारले तोकेको श्रम ऐनअनुसार पारिश्रमिक दिन सक्ने कम्पनीलाई ठेक्का दिनुपर्ने सुझाव प्रतिष्ठानका केही अधिकृतले उपकुलपति प्राडा राजकुमार रौनियार र अस्पताल निर्देशक गौरीशङ्कर शाहलाई दिएका थिए ।

सेवा सुविधा कम भएको भन्दै प्रतिष्ठानमा कार्यरत सुरक्षा गार्डले बेलाबेलामा आन्दोलनगर्ने गरेको र त्यसबाट प्रतिष्ठानको छवि पनि नराम्रो हुँदै गएकाले प्रतिष्ठानले श्रम ऐनको पूर्ण पालना गर्न सक्ने र कार्य सम्पादनमा राम्रो मूल्याङ्कन हुने कम्पनीलाई टेण्डर दिन प्रतिष्ठानका अधिकृतहरूले सुझाव दिएका थिए । सुरक्षा गार्डहरूले पनि एक महिना अगाडि प्रेस विज्ञप्ति नै जारी गरेर श्रम ऐन अनुसार सुविधा माग गरिसकेका छन् ।

प्रतिष्ठानले खुलाएको टेण्डरबाट न्यूनतम मूल्यमा सुरक्षा दिने ५ ओटा कम्पनी छनोट भएका छन् । जसमा इटहरीको भीआइपी सेक्युरिटी, काठमाडौंको गोर्खा युद्ध सेक्युरिटी, डीडी सेक्युरिटी, बज्रवाराही सेक्युरिटी र कान्तिपुर सेक्युरिटी रहेका छन् ।