ताप्लेजुङः ३ दिनदेखिको अविरल वर्षाका कारण कच्ची सडक हिलाम्मे बनेपछि ताप्लेजुङका ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ सिर्जना भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो झरेपछि र सडक हिलाम्मे बनेपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो ।
‘पुराना सडक भन्दा बढी नयाँ सडक हिलाम्मे बनेका छन्, कतै गाडी फसेपछि ठेल्दै र कतै सानातिना पहिरो पन्छाउँदै गाडी चलाइएको छ’, जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र नेपालीले भने । निरन्तर वर्षा भइरहेकाले २ दिनदेखि निकै कठिनाइ भएको र अझै वर्षा भए फक्ताङलुङ गाउँपालिका लगायतका ठाउँमा गाडी जाने सम्भावना न्यून देखिएको नेपालीको भनाइ छ ।
फक्ताङलुङको सिस्ने खोलामा बाढी आउँदा केही सवारी साधन जोखिममा परेका थिए । भौगोलिक रूपले बाढीपहिरोको जोखिममा परेका ठाउँमा वर्षात्का बेला सवारी साधनलाई ओहोरदोहोर गराउन निकै समस्या हुने यातायात व्यवसायीको भनाइ छ । विशेष गरी तमोर नदी पारीका क्षेत्रमा नयाँ बाटो भएकाले त्यहाँका सडक हिलाम्मे बनेका छन् ।
साविकका पापुङ र मामांखे बाहेकका सबै ठाउँमा सडक पुगेका छन् । जिल्लाको नौ स्थानीय तहका सबै केन्द्रसम्म सवारी साधन पुग्ने गरेका छन् । हिउँदमा धुलाम्मे हुने सडकमा बर्खा लागेपछि हिलो जम्ने र पहिरो खस्ने भएकाले ओहोरदोहोरमा समस्या भोग्नु परेको स्थानीय बताउँछन् ।