इलामः इलामको दक्षिणी क्षेत्र माई नगरपालिकामामा रहेको माईखोलाले बगाएर ३ जना विद्यार्थी बेपत्ता भएका छन् । परीक्षा दिएर फर्किदै गरेका ६ जनामध्ये ३ जनालाई खोलाले बगाएको हो ।

खोलाले बगाएर माई नगरपालिका–१ बरदरेमा १५ वर्षीया सुनिता साउदेन, १५ वर्षीया निशा सुनार र १२ वर्षीया आकृति लिम्बू बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार बेपत्ता बालिकाहरूको खोजी भइरहेको छ । उनीहरू कुन स्कुलमा अध्ययनरत थिए भन्ने खुल्न सकेको छैन ।

त्यसैगरी चुलाचुली गाउँपालिका १ का ५५ वर्षीय अञ्चल लावतीको शुक्रबार खोलाले बगाएर ज्यान गएको छ । चुलाचुली १ र २ को सिमानामा पर्ने बाघडोर खोला तर्ने क्रममा लावतीलाई खोलाले बगाएर मृत्यु भएको हो । लावतीको शव झापाको कमल गाउँपालिका २ भालुगाउँमा कमल खोलाको बगरमा मृत अवस्थामा फेला परेको थियो ।