झापाः बाढीले बगाउँदा झापामा २ जनाको मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन् ।

शनिबार झापाको सतासीधाममा एक बालकको खोलाले बगाएर मृत्यु भएको हो । शिवसताक्षी–१० का देवीप्रसाद चापागाईँका ९ वर्षीय छोरा सौगातको स्थानीय बनियानी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

शिवसताक्षी नगरपालिका–५ मा रहेकी फुपू निर्मला पौडेलको घरमा गएका बेला साथीसँग खेल्ने क्रममा चिप्लिएर खोलामा झर्दा उनको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।

शुक्रबार दमकस्थित लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी सङ्खुवासभा चैनपुर नगरपालिका–७ की ६ वर्षीया एलिजा न्यौपानेको पानीमा डुबेर मृत्यु भएको थियो । दमक–१० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा उनी बेपत्ता भएकी थिइन् । इलाका प्रहरी दमकको टोलीले बालिकालाई घटना स्थलभन्दा ५ सय मिटर दक्षिणमा फेला पारेको थियो । अचेत अवस्थामा भेटिएकी बालिकाको लाइफलाइन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, भद्रपुर नगरपालिका–९ प्रणामीनगरस्थित हँडिया खोला तर्ने क्रममा मेचीनगर नगरपालिका–१४ मजदुर बस्तीका ४५ वर्षीय सुफल हस्दा सतार बेपत्ता भएका छन् । प्रहरी टोली र स्थानीयबासीले बेपत्ता हस्दाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।