उर्लाबारीः बक्राहा खोलामा आएको बाढीले मोरङको उर्लाबारी–८ सन्थाल टोलका ६ परिवार विस्थापित बनेका छन् ।
बक्राहा खोलाले कटान तीव्र पारेपछि खोला छेउमा बसोबास गर्दै आएका ६ सन्थाल परिवारलाई स्थानीय बहादुरबाबा चौधरी आधारभूत विद्यालयमा राखिएको हो । खोलाले कटान तीव्र पारेपछि स्थानीय त्रसित बनेका छन् ।
खोला मानव बस्तीतर्फ पस्ने खतरा बढेको भन्दै सरोकारवाला निकायले गम्भीर ध्यान दिनुपर्ने स्थानीय नारायण बस्नेत बताउँछन् । समयमै तटबन्ध नगर्दा स्थानीयवासी बर्सेनी बाढीको जोखिममा पर्दै आएको उनले बताए । पटकपटक तटबन्धको माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएको उनको गुनासो छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले खोला कटानको अवस्थाबारे निरीक्षण गरी तत्काल कटान रोक्न अस्थायी तटबन्धनका लागि पहलकदमी गरेका छन् । उनले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । कटान रोक्नका लागि सबै निकायसँग समन्वय गरी काम गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
सांसद लिम्बूसहितको टोली बेलुका साढे ७ बजेसम्म पनि कटानस्थलमै रहेको थियो ।