विराटनगरः विराटनगरमा बाढीबाट पीडित बनेकाहरूको उद्धारमा महानगरका प्रमुख भीम पराजुली आफैँ खटिएका छन् ।
सेल्टर र विद्यालयमा राखिएका बाढी प्रभावितलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको प्रमुख भीम पराजुलीले बताए । भने, ‘म आफैं पनि उद्धारमा खटिएको छु । पीडितलाई आश्रय दिलाउने र खानपानको व्यवस्था मिलाएका छौं ।’
सबै वडामा मेयर पराजुलीसहित उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहितको टोली पुगेर वस्तुगत अवस्था बुझ्ने काम गर्नुका साथै आवश्यक प्रबन्ध गर्ने काममा जुटेको महानगरले जनाएको छ ।
विराटनगरका वडा नं. १, ६, ७, ८, ११, १२, १५, १६, १८ र १९ का बासिन्दा डुबानबाट प्रभावित भएका छन् । पीडितहरूलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ ।