धरानः धरानमा एशियाली विकास बैंकको सहयोगमा सञ्चालित २ अर्ब १६ करोड ४ लाख रुपैयाँ लागत अनुमान गरिएको धरान खानेपानी आयोजनाका बारेमा नेपाली काङ्ग्रेस धरानले विभिन्न १० माग राखेको छ ।
शनिबार धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीलाई एक ज्ञापनपत्र बुझाउँदै काङ्ग्रेस धरानले विभिन्न १० माग राखेको हो ।
सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्घर्ष समितिसँग भएको सम्झौताअनुसार भूमिगत स्रोतबाट १ करोड ५२ लाख २० हजार लिटर पानी दैनिक वितरण गर्नुपर्ने, नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति तथा दायित्य विशेषज्ञमार्फत् पुनः मूल्याङ्कन हुनुपर्ने, कर्मचारी समायोजन विनियमावली स्वीकृत हुनुपर्ने धरान काङ्ग्रेसको माग छ ।
यस्तैगरी, आयोजनाबाट पञ्चकन्या .(विजयपुर) सिस्टम हटाइएकाले धरान १४ तथा साविक विष्णुपादुका र पाँचकन्या क्षेत्रका लागि बेग्लै खानेपानी आयोजना लागू हुनुपर्ने, पूर्ण सञ्चालन अगाडि नै बिग्रिने पम्प तथा उपकरण बारेमा छानबिन हुनुपर्ने, आयोजनाबाट हटाइएको पञ्चकन्या (विजयपुर) सिस्टम र सडक विकास कोषबाट भएको २० किलोमिटर सडक मर्मत तथा विस्तारमा परेको ब्ल्याकटप निर्माणको लागत समायोजन हुनुपर्ने नेपाली काङ्ग्रेसले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
शहरी खानेपानी आयोजना सञ्चालन तथा व्यवस्थापन गर्न नेपाल सरकारले छुट्टै संरचना बनाउने भएकाले हतारमा खानेपानी संस्थानलाई बोर्डमा गाम्भे औचित्य पुष्टि गर्नुपर्ने, खानेपानी संस्था र बोर्ड दुवैले कतिपय वडामा दोहोरो शुल्क लिएकाले बन्द हुनुपर्ने, आयोजना सम्पन्न भएपछि ९ महिनाको परीक्षणकाल भएकाले उक्त अवधिसम्म आयोजनाबाट डिजाइनअनुसार खानेपानीको आपूर्ति हुनुपर्ने र आयोजनाको प्रगति, खर्च तथा कम्युटर डेभलपमेन्ट कार्यक्रमको खर्च तथा कार्य विवरण सार्वजनिक गर्नुपर्ने माग धरान काङ्ग्रेसले राखेको छ ।
एकीकृत शहरी विकास कार्यक्रमअन्तर्गत एशियाली विकास बैंकको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान उपमहानगरपालिकाको १५ प्रतिशत लगानीमा धरानमा खानेपानी परियोजना सञ्चालन भएको हो । २ अर्ब बढीको योजना असफल, अधुरो र अप्रमाणित आयोजना भएको भन्दै ऋणको भार धरानवासीले नबोक्ने तथा बोकाउन नपाइने पनि काङ्ग्रेसले माग गरेको छ ।
आफ्ना विभिन्न मागको पूर्ण कार्यान्वयन नभई यथास्थितिमा जबरजस्ती अधुरो, अपुरो र अप्रमाणित आयोजना जिम्मा लिन र संस्थानलाई बोर्डमा गाभ्न खोजिए त्यसका विरुद्ध नेपाली काङ्ग्रेसले सशक्त आन्दोलन गर्ने नेपाली काङ्ग्रेस धरानले चेतावनी दिएको छ ।