इटहरीः क्वीक रेस्क्यु टिम इटहरीले मोरङको जहदा र कटहरीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।
टिमका अध्यक्ष विक्रम वर्णवास येक्तेन लिम्बूका अनुसार जहदा गाउँपालिकाको वडा नम्बर २ का १ सय ५० परिवार र कटहरी गाउँपालिकाको वडा नम्बर ४ का ५० परिवारलाई राहत वितरण गरिएको बताए । ‘हामी सरकारसँग मिलेर सहयोग गर्न तयार भएको जानकारी गराउँदै प्रस्ताव पेश गरे पनि सरकारले वास्ता गरेको छैन’ अध्यक्ष लिम्बूले भने, ‘मैले व्यक्तिगत रूपमा क्वीक रेस्क्यु टिमको ब्यानरमार्फत् १ लाख ८० हजार रुपैयाँबराबरको राहत सामग्री जहदा र कटहरीमा वितरण गरेको छु ।’
चामल, भुजिया, चाउचाउ र टेन्ट वितरण गरिएको लिम्बूले बताए । दुवै वडाका अध्यक्ष र अन्य जनप्रतिनिधिको उपस्थितिमा राहत बाँडिएको उनले बताए ।
सरकारले सहयोग नगरे पनि यसरी नसोचेको सहयोग पाउँदा खुशी लागेको प्रतिक्रिया पीडितले दिएको उनको भनाइ छ । राहत सामग्री दिए पनि ती सामग्री राख्ने ठाउँ नै नभएको पीडितले बताएको लिम्बू बताउँछन् । विपत् आइसकेपछि बैठक बस्ने काममा सरकारी निकाय लाग्न थालेकाले राहत वितरणमा सरकार ढिलो पुग्ने गरेको उनको आरोप छ ।
सि टिमले बाढीमा बग्दै गरेका चौपायाको पनि उद्धार गरेको थियो । त्यस क्रममा केही टेन्टहरु रेस्क्यु टिमले नै टाँगेको र केही पालहरु टेन्ट टाँग्नको लागि प्रदान गरिएको उनले बताए । उनका अनुसार टिमका ९० जना सदस्य उपत्याकाका बाढीपीडितलाई सहयोग गर्न पुगेका छन् । सम्बन्धित वडाका जनप्रतिनिधिले उद्धारमा खासै चासो नदिएको पाइएको पनि उनले बताए ।