धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमएस्सी नर्सिङ २०१७ ब्याचका छात्राले स्वास्थ्यसँग सम्बन्धित सामुदायिक कार्यक्रम सम्पन्न गरेका छन् । सोही क्रममा उनीहरूले नयाँ जीवन नामक नाटक पनि प्रस्तुत गरेका छन् ।

उनीहरूले धरान–१७ का विभिन्न टोलमा ३ हप्तासम्म अध्ययन अनुसन्धानका साथै सामाजिक कार्य गरेका हुन् । उनीहरूले पहिलो हप्ता समुदायका हरेक घरमा गएर सदस्यको शारीरिक र मानसिक स्वास्थ्य कस्तो छ भन्ने विषयमा अध्ययन गरेका थिए । त्यस्तो अध्ययन २ सय ५० घरमा गरिएको एमएस्सी नर्सिङकी विद्यार्थी निकिता घिमिरेले जानकारी दिइन् । दोस्रो चरणमा स्थानीय विद्यालयमा स्कुल हेल्थ कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् ।

स्कुल हेल्थ कार्यक्रममा कक्षा १ देखि १० सम्मका ३ सय ८३ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यार्थी अनिशा राउतले जानकारी दिइन् । उक्त कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आशिष श्रेष्ठसहित उनको टिम, बालरोग विशेषज्ञ डाक्टर श्याम काफ्ले तथा मुकेश भट्टले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा नेहा श्रेष्ठले परामर्श दिएकी थिइन् ।

विद्यार्थीको समूहले धरान वडा नम्बर १७ को सहयोगमा विद्यालयका विद्यार्थीलाई मञ्जन तथा ब्रस पनि वितरण गरेको थियो । विद्यालयका शिक्षकहरूलाई व्यावहारिक समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिइएको थियो ।

एमएस्सी नर्सिङका विद्यार्थीले अध्ययनको क्रममा भेटिएको समस्यालाई सम्बोधन गर्न उदय सामुदायिक बनको हलमा नयाँ जीवन नामक सडक नाटक पनि प्रस्तुत गरेका थिए । नाटकले रक्सी सेवनले समाज र परिवारमा पार्ने असरका बारेमा सन्देश दिन खोजिएको थियो ।

नाटकमा समीक्षा शर्मा, निकिता घिमिरे, सुधा पौडेल, अनिसा राउत, सञ्जिता फियाक, अर्पण अधिकारी, रोशनी मगर, मञ्जु देवकोटा र कृति घिमिरेले अभिनय गरेका थिए ।