धरानः त्रिवेणी महिला समूह धरानको सातौँ साधारणसभा शनिबार सम्पन्न भएको छ । धरान–१५ स्थित किरात राई यायोख्खाको भवनमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा धरान–१५ का वडा सदस्य ज्ञानेन्द्र बस्नेतले महिला समूहहरूकै कारण सामाजिक विकास र सचेतनामा १५ नम्बर वडा अगाडि बढेको बताए ।
महिला समूहहरूले सञ्चालन गर्ने विभिन्न कार्यक्रमबाट सामाजिक चेतना बढिरहेको भन्दै उनले अब आर्थिक विकासका कार्यक्रम पनि महिलाबाट सञ्चालन हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै दन्तकाली एफएमका सम्पादक तीर्थ कार्कीले त्रिवेणी महिला समूहले समाज, संस्कार र संस्कृतिका क्षेत्रका काम गरिरहेको बताए ।
कार्यक्रममा कोशीपत्र दैनिकका निर्देशक योगेशबाबु काफ्ले, किरात राई यायोख्खा १५ नम्बर वडा समितिका उपाध्यक्ष गोपाल राई, एभरेष्ट वातावरण समूहकी दिलकुमारी राई, पिण्डेश्वर टोल विकास समितिका अध्यक्ष डम्बर कटुवाल, त्रिवेणी महिला समूहकी सल्लाहकार लीला राईलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको सञ्चालन समूहकी सचिव भीमा खड्काले गरेकी थिइन् भने स्वागत मन्तव्य कल्पना खड्काले राखेकी थिइन् । कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष विमला जबेगूले गरेकी थिइन् ।