ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित ओलाङचुङगोला बस्ती बाढी र कटानको चपेटामा परेको छ । तमोर नदीको किनार छेउमा रहेको बस्तीको भाग बाढी र कटानले क्रमश घट्दै गएको छ ।

कटानका कारण तत्काल कुनै जोखिम नभए पनि क्रमशः बस्तीको भाग घट्दै गएकाले भविष्यमा जोखिम हुने वडाध्यक्ष छेतेन शेर्पाको भनाइ छ । ‘वर्षौदेखि सामान्य रूपमा नदीले बस्तीको भाग कटान गरिरहेको छ, तत्काल जोखिम नभए पनि भविष्यमा जोखिम छ’, शेर्पाले भने ।

ठूलो वर्षा भएर नदीमा बाढी आए ढुक्कले बस्ने अवस्था नरहेको अर्का स्थानीय टाँसी शेर्पा बताउँछन् । ‘ठूलो पानी परेका बेला बाढी आउला कि भन्ने डरले राति ढुक्कले सुत्ने अवस्था हुँदैन, तर अहिलेसम्म कुनै क्षति भएको छैन’, उनले भने । तत्काल जोखिम नदेखिए पनि बस्तीको सुरक्षाका लागि भने अहिलेदेखि नै चासो राख्नुपर्नेमा स्थानीयको जोड छ ।

नदीकै कटानका कारण बस्ती मात्रै नभई नजिकै रहेको ऐतिहासिक दिकी छ्योलिङ गुम्बासमेत असुरक्षित हुन सक्ने स्थानीयको भनाइ छ । बस्तीभन्दा केही माथि ४ सय वर्ष पुरानो सो गुम्बा छ ।

तमोर नदीको कटानले गर्दा भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै वडाले कटान रोकथाम गर्नेतर्फ सोचिरहेको वडाध्यक्ष छेतेन शेर्पा बताउँछन् । वडामा आएको सानो बजेटले मात्रै रोकथामका लागि नपुग्ने भन्दै यसका लागि प्रदेश र सङ्घीय सरकारले समेत चासो दिनुपर्नेमा उनको जोड छ ।

ओलाङचुङगोलामा शेर्पा सुमदायका करिब ५३ परिवारको बसोबास रहेको छ । वर्षौदेखि बसोबास गर्दै आएका शेर्पा समुदायले त्यहीँ बसेर पशुपालन, जडिबुटी सङ्कलन तथा व्यापार गर्दै आएका छन् । सदरमुकामबाट झण्डै २ दिनको पैदल दूरीमा पर्ने सो बस्ती तिब्बतसँग जोडिएको क्षेत्र हो ।

तिब्बतस्थित रिउ बजारबाट सडक सञ्जालले बस्ती जोडिएको छ । तर यातायात भने सञ्चालनमा छैन । यता, सदरमुकाम तर्फबाट निर्माण भईरहेको ओलाङचुङगोला लोकमार्ग अन्तर्गतको सडक अझै ओलाङचुङगोलामा पुग्न सकेको छैन । निर्माणकै चरणमा रहेको सडक फक्ताङलुङको लेलेपसम्म पुगेको छ । सो सडक ओलाङचुङगोलामा जोडिन करिब २८ किलोमिटर बाँकी रहेको छ ।