फाइल तस्बिर
उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकाको चौथो नगरसभा विवादका बीच सम्पन्न भएको छ ।
आइतबार साँझ विवादका बीच नगरसभा सम्पन्न भएको हो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अध्यक्षतामा भएको नगरसभामा काङ्ग्रेस र नेकपानिकट जनप्रतिनिधि विभाजित बनेका थिए ।
उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा आइतबार बिहान ११ बजे बोलाइएको नगरसभामा नेकपा निकट जनप्रतिनिधि भने एकलौटी निर्णय नमान्ने बताउँदै नाराबाजीसहित बाहिरिएका थिए । बहुमत सङ्ख्यामा रहेका नेकपाका जनप्रतिनिधि बाहिरिएपछि आइतबार ३ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । त्यसपछि पुनः बसेको नगरसभामा मेयर फागोले चित्त नबुझेका विषयमा असहमति जनाउन आग्रह गरेपछि नगरसभा दिउँसो ३ बजे शुरु भएको थियो ।
साँझसम्म चलेको नगरसभामा अन्तिमसम्म पनि नेकपाका जनप्रतिनिधिको विरोध कायमै थियो । नगरसभा सम्पन्न भएपछि निर्णय पुस्तिकामा केही बुँदामा असहमति जनाउने बताएका थिए । त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु भट्टराईले सोमबार माइन्युट तयार गरेर असहमति जनाउन दिने प्रतिबद्धता जनाएका थिए । त्यसपछि नेकपाका जनप्रतिनिधि बाहिरिएका थिए ।
नेकपानिकट जनप्रतिनिधिले निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टराईको शङ्कास्पद भूमिकाप्रति पनि रोष प्रकट गरेका छन् । मेयर फागोले आफूले जनप्रतिनिधिको तलब भत्ता रोकेको लगायतका विषयमा केही जनप्रतिनिधि रुष्ट भएको बताएका थिए । उनले आफूले एक रुपैयाँ पनि हिनामिना हुन नदिएको भन्दै जनताको हितमा रहेर काम गरिरहेको दाबी गरे ।
उनले उर्लाबारीमा सञ्चालन भइरहेका क्रसर बन्द गराउन उर्लाबारी नगरपालिकाले नसक्ने स्पष्ट पारे । यता, उपमेयर लक्ष्मीदेवी भण्डारीले भने मेयर एकलौटी तरिकाले अघि बढेकाले त्यसको विरोध गरेको जनाइन् । जनताको सर्वोत्तम हितका बारेमा सोच्न उनले आग्रह गरिन् ।