धरानः देवऋषि आचार्य समाजले आइतबार धरानमा भानु जयन्तीको अवसर पारेर लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
समाजसँग आबद्ध पचास महिला र पुरुषहरू सहभागी रहेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपाका नेता एवं प्रदेश १ का प्रदेशसभा सदस्य भीम आचार्य रहेका थिए । आचार्यले लैङ्गिक समानताको महत्त्व वर्तमान परिपेक्षमा अझ धेरै बढेको बताउँदै आजको समयमा कोही कसैलाई लैङ्गिकताको सिकार बनाएमा समाज विभाजित हुने बताए ।
मुलुकको राजनीति लगायतका सबै खाले संरचनाहरू समावेशिता हुनु पर्ने र राज्यका हरेक निकायमा सबैको समान पहुँच भएमा मात्र लोकतन्त्रको भावनाको सही कदर हुने कुरामा आफू विश्वस्त रहेको नेता आचार्यले बताए । कार्यक्रमको सहजिकरण समाजका विकास आचार्य र सामाजिक अगुवा सुख शान्ता राईले गरेका थिए । सोही कार्यक्रममा यस वर्षको एसईई परीक्षामा उच्चतम अङ्क ल्याउने धरानका अठार जना विद्यार्थीहरूलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सचिव विकास आचार्यले धरानको सामाजिक क्षेत्रमा थपिएको यो नवीन संस्थाले धरानको गरिमालाई उच्च राख्न र यहाँको सामाजिक क्रियाकलापमा समेत महत्वका साथ आफूलाई क्रियाशील बनाउन कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘देवऋषि आचार्य समाज पनि आगामी दिनमा धरानको महत्त्वपूर्ण सामाजिक संस्थाको रूपमा स्थापित हुँदै धरानवासीको हितमा काम गरेर परिचित हुनेछ ।’
तदर्थ समितिका संयोजक राजेश आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गिरिराज आचार्य , अम्बिका घिमिरे आचार्य , लोकेन्द्र आचार्य र ९ नम्बर वडाध्यक्ष रत्न बहादुर कटुवालले आफ्नो मन्तव्य राखेका थिए ।