भोजपुरः भोजपुर सदरमुकामस्थित सगरमाथा अङ्ग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन् ।

आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी गर्दै गर्दा आफूलाई प्रिन्सिपल रमेशकुमार आलेले बोलाएर टाइ र कोट नलगाएको निहुँमा कुटपिट गरेको पीडित शिक्षक अतीत अधिकारीले बताए । आइतबार विद्यालयको पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशित गर्ने दिन रहेको उनले बताए ।

‘पढाइसकेपछि म स्टाफ रुममा टाइ र कोट झुण्ड्याएर जान्थेँ र भोलिपल्ट विद्यालय समयमा लगाएर आउँथे,’ अधिकारीले भने, ‘हिजो खाना खाएर सर्ट र पेन्ट लगाउँदै गर्दा सहयोगीमार्फत् बोलाउनुभएको खबर आयो । उहाँको चेम्बरमा गएँ । खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो । म कसैको गाली खान आ’को होइन मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासी बाहिर प्यासेजमा ल्याएर कुट्नुभयो ।’

यसभन्दा अघि पनि पटकपटक धम्की दिने गरेको भन्दै उनले आफूलाई हातले गालामा र ढाडमा कुटपिट गरेको बताए ।

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका वडा नं. १ घर भएका २८ वर्षीय अधिकारी ५ महिनादेखि सो विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँथे । आफ्नो साथमा विद्यालयको नियुक्तिपत्र पनि नभएको अधिकारीले बताएका छन् । आफ्नो १ महिनाको पारिश्रमिक ३५ हजार पनि रोक्का गरिदिएको र बिदा गरेको उनको भनाइ छ ।

अधिकारी अहिले न्यायका लागि प्रहरी प्रशासन र पत्रकार गुहारिरहेका छन् । उनले जिल्ला प्रशासन कार्यालय भोजपुरमा आलेमाथि कारवाहीको माग गर्दै निवेदन दिएका छन् । सो निवेदनको बोधार्थ शिक्षक महासङ्घ, नेपाल पत्रकार महासङ्घ र जिफन्टलाई पठाएका छन् ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आफूकहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समाधान गरिदिन लेखिपठाएको बताए ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले दुवै पक्षलाई बोलाएर छलफल गरी समस्याको समाधान खोजिने बताए । नेपाल शिक्षक महासङ्घ भोजपुरका अध्यक्ष तीर्थकुमार राईले शिक्षकमाथि भएको कुटपिटको सम्बन्धमा आपत्ति जनाएका छन् । उनले सम्बन्धित निकायले समाधानको बाटो खोज्नुपर्ने औंल्याए ।

निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सनका भोजपुर अध्यक्षसमेत रहेका प्रिन्सिपल आलेसँग यसबारेमा जानकारी लिँदा अधिकारीले केही दिनदेखि फरक व्यवहार देखाएको बताए । आफूले शिक्षक अधिकारीलाई कुटपिट नगरेको र पारिश्रमिक पनि नरोकिएको उनले बताए ।