धरानः नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय परिषद सुनसरीको जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुरज लामा पाख्रिनको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलामा घेदुङको संशोधित विधान, आसन्न प्रदेश अधिवेशन तथा नवौं महाधिवेशन, घेदुङको आजीवन सदस्यता, तामाङ जातिको धर्म, संस्कार, संस्कृति, परम्परा र रीतिरिवाज तथा प्राप्त संवैधानिक हक अधिकारको कार्यान्वयन र सम्बोधन हुन नसकेका विषयमाथि अन्तरक्रिया भएको थियो ।

भेलालाई सम्बोधन गर्दै १ नं. प्रदेश अध्यक्ष मित्रसेन योञ्जनले घेदुङमा टिके प्रथा अन्त्य हुनुपर्ने, जिल्लाको संरचना यथावत हुनुपर्ने तथा लामा र बोन्बो (धामी झाँक्री) बीच भएको असमझदारी हट्नुपर्ने बताए । उनले मंसिरभित्रै प्रदेश अधिवेशन हुने र फागुनमा सुनसरीको धरानमा नवौं महाधिवेशन हुने बताउँदै त्यसका लागि सुनसरी घेदुङ तयारीमा जुट्नुपर्ने पनि बताए ।

नेपाल तामाङ घेदुङका सङ्घीय सल्लाहकार सुजेन्द्र गोले तामाङले दीर्घकालीन शैक्षिक, राजनीतिक, सांस्कृतिक, सामाजिक एवम् साङ्गठनिक योजना बनाएर घेदुङ अघि बढ्नुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारले संविधानमै उल्लेख गरिएको समानुपातिक समावेशिता, धर्मनिरपेक्षता र समतामूलक समाज निर्माणको मर्म र भावना विपरीत आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसङ्ख्यक र अपाङ्गहरुरूमाथि विभेद गरिरहेको बताए । आदिवासी जनजातिहरूको राष्ट्रिय सांस्कृतिक चाडपर्वमा दिइँदै आएको राष्ट्रिय बिदा कटौती तथा भर्खरै लोकसेवा आयोगले संविधान विपरीत गरेको असमावेशी विज्ञापनले सरकारको नियत र चरित्र प्रष्ट भएको उनको भनाइ थियो ।

भेलामा नेपाल तामाङ घेदुङका सुनसरी उपाध्यक्ष पृथ्वीबहादुर मोक्तान, धरान नगर अध्यक्ष प्रेम वाइबा, इटहरी नगर अध्यक्ष चन्द्रबहादुर गोम्देन, वराह नगर अध्यक्ष कुलबहादुर मोक्तान, राजेन्द्र स्याङबो, गोले समाज सुनसरीका अध्यक्ष तारा लामा गोले, पाख्रिन समाज सुनसरीका अध्यक्ष हर्क पाख्रिन, योन्जन समाज सुनसरीका अध्यक्ष राम योन्जन, महिला घेदुङ धरानका अध्यक्ष प्रतिमा लामा लगायतले मन्तव्य राखेका थिए ।

भेलामा नेपाल तामाङ घेदुङका सङ्घीय सदस्य मैतबहादुर गोले, प्रदेश उपाध्यक्ष रामबहादुर ग्याबा, जिल्ला सल्लाहकार नन्दलाल पाख्रिन, गुम्बा अध्यक्ष हर्क गोले र लोकबहादुर थिङ, आङी समूहका अध्यक्ष पूर्णिमाया गोले, सिंगर तामाङ समाजका प्रतिनिधि दीपबहादुर सिंगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला सचिव मंगलसिंह मोक्तानले गरेका थिए ।