धरानः सनातन धर्म सेवा समिति सुनसरी शाखाले धरानको गीता भवनमा आज व्यास जयन्ती तथा गुरुपूर्णिमा कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष प्रा.डा. गोपालप्रसाद भण्डारीको सभापतित्व र प्रा.डा.चन्द्रमणि नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शिक्षासेवी प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेललाई दोसल्ला, गुरुदक्षिणा र सम्मानपत्रका साथ सम्मानित गरिएको थियो ।

वि.सं. २००२ सालमा धनकुटामा जन्मिएका कट्टेलले २०२२ सालदेखि पिण्डेश्वर विद्यापीठ धरानमा नेपाली विषय प्राध्यापन शुरु गरेका थिए । उनी पिण्डेश्वर विद्यापीठका प्राचार्यसमेत रहेका थिए । २०६६ सालमा सेवानिवृत्त कट्टेल सामाजिक, धार्मिक एवम् आध्यात्मिक क्षेत्रमा क्रियाशील छन् । उनका नेपाली भाषा, साहित्य र समालोचनासम्बन्धी प्रशस्त लेखरचनाहरू प्रकाशित छन् । उनकै सक्रियतामा धरानमा पं काशीनाथ उपाध्याय– हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानको स्थापनासमेत भएको छ । वैदिक सनातन धर्मका कुशल अनुयायी धार्मिक व्यक्तित्वका रूपमा उनी समाजमा परिचित छन् ।

कार्यक्रममा डा.आनन्दप्रसाद आचार्य, सहप्रा. हरिप्रसाद दाहाल, साहित्यकार भीष्म काफ्लेलगायतले गुरुमहिमाका विषयमा प्रकाश पारेका थिए । वक्ताहरूले वैदिक सनातन धर्मअनुसार गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्म मानिने बताए । जीवनका हरेक पाइलामा मार्गनिर्देशन दिने व्यक्तित्वलाई गुरु मान्नुपर्छ, गुरुभक्तिबिना वास्तविक ज्ञान प्राप्त हुँदैन, भगवान्हरूले पनि गुरुशिक्षाबाट नै सफलता पाएको कथाहरू हामीले पढ्दै आएको हुँदा हरेक व्यक्ति असल गुरु र असल शिष्यका रूपमा रहन क्रियाशील हुनुपर्छ भनी वक्ताहरूले जोड दिएका थिए ।

अङ्ग्रेजी शिक्षाको बढ्दो प्रभावबाट गुरु–शिष्य परम्परामा आँच आउँदै गएकामा वक्ताहरूले चिन्ता प्रकट गरे । कार्यक्रममा समितिका सदस्य गोविन्द तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए भने डा.महानन्द तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

guru punima  (2) guru punima  (3)