भोजपुरः भोजपुरको आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर २ जनाको ज्यान गएको छ ।

मङ्गलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ थर्पुका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घरबाट मङ्गलबार दिउँसो घुम्न हिँडेका दुवै जनालाई पोखरीमा डुबेको देखेपछि साँझमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुवै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।