काँकरभिट्टाः झापाको मेचीनगरमा बुधबारदेखि जेसीज सप्ताह शुरु भएको छ । मेचीनगर लेडी जेसीजले साताव्यापी कार्यक्रम शुरु गरेको हो । संस्थाकी अध्यक्ष मञ्जु भण्डारी खनालका अनुसार मेचीनगर लेडी जेसीजले विभिन्न कार्यक्रम गर्न लागेको हो ।

आदर्श माध्यमिक विद्यालय इँटाभट्टाको सभाहलमा शुरु भएको सप्ताहको नेपाल जेसीजका तालीम आयुक्त एकराज गिरीले विधिवत उद्घाटन गरेका थिए । उनले जेसीज आफूभित्र रहेको प्रतिभा र क्षमता बाहिर ल्याउने हरेक मानिसको साझा फोरम भएको बताए । तालीममा सीकेको सीप व्यवहारमा कार्यान्वयन गर्न आग्रह गदैं सहभागीलाई यो अवसरको सदुपयोग गर्न समेत आयुक्त गिरीले अनुरोध गरे । विशिष्ट अतिथि नेपाल जेसीज क्षेत्र क उपकरण निर्देशक अजय देव, धुलाबारी जेसीजका अध्यक्ष केशव पोखरेललगायतले उद्घाटन मन्तव्य राखेका थिए ।

संस्थाकी अध्यक्ष भण्डारीले उद्घाटन सत्रको सभापतित्व गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । उनले नेतृत्व विकासका विषयमा लेडी जेसीजका संस्थापक अध्यक्ष कविता शर्माले, माइन्युट लेखनमा मिलनकुमार ढुङ्गानाले, तनाव व्यवस्थापनका विषयमा राजकुमार साहले, संसदीय बैठक प्रणालीका विषयमा लक्ष्मी राईले, दिगो विकासको लक्ष्य तथा नेतृत्व विकासका विषयमा विजय तिम्सिनाले, उत्प्रेरणाका विषयमा जय तिम्सिनाले र भाषण कलाका विषयमा शोभा श्रेष्ठले सहजीकरण गर्ने जानकारी दिइन् ।

संस्थाकी महासचिव गीता ओझाले सञ्चालन गरेको उद्घाटनसत्रमा तालीम संयोजक रश्मी थापाले स्वागत मन्तव्य र उपाध्यक्ष अनिता गुरागाईँले आस्थावाचन गरेकी थिइन् । संस्थाकी मूल संयोजक सीता पुरीका अनुसार सबै तालीम मेचीनगरका विभिन्न वडामा हुनेछन् । तालीममा नगरका ५० भन्दा बढी महिलाको सहभागिता रहेको छ ।

jacys jhapa  (1)