विराटनगरः नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात् छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा शुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो ।

शुरुमा ३ जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु विभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिए । ‘पहिलो चरणमा ३ जनाको सफलतापूर्वक ओपन हार्ट सर्जरी ग¥यौँ,’ डा.नेपालले भने, ‘सबै जना निको भएर घर फर्किसक्नुभयो । अब नियमित सेवा शुरु गरेका छौ ।’

मुटुको अप्रेशनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य विधिबाट उपचार गरिन्छ । तर, मुटुको गम्भीर समस्या भएकाहरुलाई ‘ओपन हार्ट सर्जरी’ अर्थात् छाती चिरेर मुटुको शल्यक्रिया गर्नुपर्छ । जन्मजात मुटुमा प्वाल परेका, मुटुको बाथ रोगले भल्ब बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायतका बिरामीलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने नोबेलका डा. प्रमान शर्माले बताए ।

जटिल शल्यक्रिया भएकाले नेपालका केही अस्पतालमा मात्र ओपन हार्ट सर्जरी हुने गरेको छ । नोबेलले यसअघि मुटुको चाल गडबडीसम्बन्धी उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याब सञ्चालन गरेको थियो ।