इटहरीः स्वास्थ्य बीमा गरी फाइदा लिन इटहरी उपमहानगरले नगरवासीलाई आग्रह गरेको छ ।

इटहरीमा आयोजित स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो आग्रह गरिएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडीले वर्षको ३ हजार ५ सय रुपैयाँ तिरेर बीमा गर्दा परिवारका ५ जना मध्ये जोकोही पनि बिरामी भए १ लाखसम्मको औषधी र उपचार प्राप्त हुने जानकारी दिइन् ।

७० वर्ष माथिका ज्येष्ठ नागरिकका हकमा भने निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था छ । स्वास्थ्य बीमा गराएका व्यक्तिका परिवारका सदस्य बिरामी भए इटहरी अस्पताल र त्यहाँ उपचार हुन नसक्ने भए इटहरी अस्पतालले रेफर गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी प्रादेशिक अस्पताल, नोबेल अस्पताल र विराट अस्पतालमा उपचार सेवा प्राप्त हुने जनाइएको छ ।

इटहरीका वडा वडामा ३ जनासम्म स्वास्थ्य बीमा दर्ता सहयोगी खटाइएकाले बीमा गर्न उनीहरू नगरवासीको घरमै आउने जानकारी दिइएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका सहायक प्रमुख पुण्यप्रसाद सिग्देलले मर्निङ वाक गर्नु स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक रहेको बताए । उनले आफू २० वर्ष अघिदेखि सुगरको बिरामी भएकाले निरन्तर मर्निङ वाक गर्दै आएकाले सो रोगलाई बढ्न नदिएको बताए ।

कार्यक्रममा इटहरीका जनस्वास्थ्य निरीक्षक दामोदर गौतमले वरिष्ठ मुटु रोग विशेषज्ञलाई उद्धृत गर्दै व्यक्तिको उमेर जति छ त्यति नै मिनेट मर्निङ वाक गर्नुपर्ने जनाए ।

इटहरीमा उच्च रक्तचापका बिरामी बढ्दै गएको स्वास्थ्य सहायक रामकुमार धमलाले बताए । नसर्ने रोगमध्ये इटहरीमा उच्च रक्तचापको समस्या बढी भएको उनले बताए । उनका अनुसार इटहरी उपमहानगर मातहत रहेका स्वास्थ्य संस्थाबाट १ वर्षको अवधिमा करीब ७४ हजारले स्वास्थ्य सेवा र परामर्श लिएका थिए ।