धरानः धरान उपमहानगरपालिकाका स्वर्गीय मेयर तारा सुब्बाको सम्झनामा धरान–१९ स्थित हरियाली सामुदायिक वनमा रहेको ‘मेयर तारा सुब्बा स्मृति पार्क’मा सुब्बाको अर्धकद शालिक अनावरण गरिएको छ ।

शालिकको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले संयुक्त रूपमा अनावरण गरेका थिए । शालिक अनावरण समारोहमा धरानका जनप्रतिनिधि सहित सर्वसाधरणको उपस्थिति रहेको थियो ।

शालिक अनावरणपछि धरान उपमहानगरपालिकाले नगरपालिका परिसरमा स्मृतिसभा आयोजना गरेको थियो । सभामा बोल्दै प्रमुख अतिथि सभामुख भण्डारीले स्वर्गीय सुब्बा धरानको विकासमा दुरदृष्टि राख्ने सक्षम र जनप्रिय नेता भएको बताए ।

खर्च अभावमा समयमै उपचार हुन नसकेका कारण मेयर सुब्बालाई धरानले गुमाउनुपरेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सचिव रमेश बस्नेतले स्वर्गीय मेयर सुब्बा योग्य र असल जनप्रतिनिधिको रूपमा मात्र नभई कुशल राजनीतिकर्मीको रूपमा पनि भएको बताए । स्वर्गीय सुब्बा राजनीतिक रूपमा मात्र नभएर व्यावहारिक र सामाजिक रूपमा पनि परिपक्व नेता भएको उनले स्मरण गरे ।

कार्यक्रममा बोल्दै स्वर्गीय मेयर तारा सुब्बाका दाजु एजी सुब्बाले तारा सुब्बाले घर परिवार श्रीमती र सन्तान भन्दा धेरै माया पार्टी र जनतालाई गरेको स्मरण गरे । ‘राजनीति गर्दा उसलाई लागेको लाखौँ रुपैयाँ ऋण म अहिले तिर्दै छु’, उनले भने ।

कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले आफूले काम गर्दा हरेक पटक तारा सुब्बालाई सम्झिएको बताइन् । नेपाली काङ्ग्रेसका नगर सभापति तिलक राईले तारा सुब्बा समग्र धरानको परिपक्व नेता भएको बताए । ‘आज धरानले उहाँको आवश्यकता महसुस गरेको छ,’ उनले भने, ‘हामीले पनि उहाँको अभाव खड्किएको महसुस गरेका छौँ ।’

उपमहानगरपालिकाले स्वर्गीय सुब्बाको स्मृतिमा धरान–१६ मा तारा सुब्बा स्मृति पार्क निर्माण गरिरहेको छ भने सुब्बाको स्मृति ग्रन्थ प्रकाशनको तयारी पनि गरेको छ ।