उर्लाबारीः बक्राहा खोलाको कटानको चपेटामा परेको मोरङको उर्लाबारी–८ सन्थाल टोलमा बाँसको पाइलिङ गरी अस्थायी तटबन्धको काम भइरहेको छ ।

मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) को पहलमा थालिएको बाँसको पाइलिङको काम प्रभावकारी बनेको हो । करीब २ सय मिटर क्षेत्रमा बाँसको पाइलिङ गरिसकिएको युवा समाजसेबी नारायण बस्नेतको भनाइ छ ।

खोलाले पाइलिङ हालिएको स्थानमा कटान गरेको छैन भने अन्य स्थानमा कटान तीव्र पारेको छ । खोलाको च्यानल खन्न नसके खोला पुनः मानव बस्तीमा पस्ने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । खोला मानव बस्तीमा पसेको खण्डमा उर्लाबारीसहित रतुवामाई नगरपालिकामा समेत ठूलो क्षति पु¥याउने उनले बताए ।

त्यस्तै, अर्का युवा समाजसेवी इन्द्र लामाले पनि तत्काल च्यानल खनेर खोलालाई मानव बस्तीतर्फ पस्न नदिन सबै पक्ष लाग्नुपर्ने बताए । बाढीपीडित जेठामणि सतारले बर्सेनी खोलाको समस्या खेप्दै आए पनि स्थायी तटबन्धका लागि पहलकदमी नभएको गुनासो गरे । उनले स्थायी तटबन्धका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । बक्राहा खोलामा आएको बाढीका कारण उर्लाबारी–८ सन्थाल टोलमा ६ परिवार विस्थापित बनेका छन् । उनीहरू स्थानीय बहादुरबाबा चौधरी आधारभूत विद्यालयमा बसिरेहका छन् ।

नगरपालिकाद्वारा सिलिण्डरसहितको ग्यास चुलो वितरण
सो स्थानका बाढीपीडितलाई उर्लाबारी नगरपालिकाले सिलिण्डरसहित ग्यास चुलो वितरण गरेको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उर्लाबारी वडा नं. ८ का सदस्य लक्ष्मी ढुङ्गाना, अग्नि सुब्बालगायतले पीडितलाई सिलिण्डरसहित ग्यास चुलो वितरण गरेका हुन् ।


मेयर फागोले बाढीपीडितलाई नगरपालिकाको तर्फबाट खाद्यान्नसमेत सहयोग गरिरहेको बताए । त्यस्तै, इसाई समाज उर्लाबारीले पनि राहात वितरण गरेको छ । बाढीपीडितलाई चामल, चाउचाउ, नुन, तेल, ओछ्याउनका लागि फर्म वितरण गरेको विश्वास पोमूले जानकारी दिए ।