बेलबारीः मोरङ र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ मा रहेको जनता ग्रील उद्योगका कामदार भोजपुर देउरालीका २० वर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । लक्ष्मी सरस्वती खाजा घरमा बिग्रिएको होडिङ बोर्ड मर्मत गर्ने क्रममा करेन्ट लागेर कार्की घाइते भएका थिए ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहालका अनुसार उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा साँझ ७ बजे मृत्यु भएको हो ।
त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका–८ का १८ वर्षीय अजय मेहताको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । घाइते मेहताको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मङ्गलबार साँझ ८ बजे मृत्यु भएको थियो ।