झापाः झापाको मेचीनगर—१५ मा कालाजारका नयाँ रोगी फेला परेका छन् । वैभव टि स्टेट आसपास स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।

मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ । यस्ता रोगीको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । अस्पताल भर्ना गरी उपचार गर्नुपरेमा ५ हजार रुपैयाँ छुट तथा यातायात खर्चबापत १ हजार रुपैयाँ रोगीले पाउने छन् ।

बिहीबार नयाँ रोगी खोज्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यस क्षेत्रमा पुगेको छ । शाखा संयोजक शशीकला राईका अनुसार १५ नम्बर वडाका अध्यक्ष राजन भट्टराई, कार्यपालिका सदस्य कुसुमकुमारी चौधरीसहित स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर कीटनाशक विषादी छर्कने तथा अन्य रोगीको खोजपडताल तथा शीघ्र निदान गरी उचित उपचार गर्ने चेतनामूलक कार्यक्रम गर्ने बताइएको छ ।

संयोजक राईका अनुसार कालाजार रोग नियन्त्रणका लागि नगरपालिकाले कीटनाशक विषादी छर्कने कार्यक्रम सञ्चालन गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरी ‘अल्फासाइडफर पाराफोराइड’ नामक विषादी छर्किने अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । यसका लागि ६ जना स्प्रे मेन परिचालन गरिएको छ ।

शाखा संयोजक राईका अनुसार यो एउटा सरुवा रोग हो । जसलाई लिसमेनियासिस पनि भन्ने गरिएको छ । यो रोग सङ्क्रमित पोथीजातको फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुनाको टोकाइबाट सर्ने गर्दछ । भुसुनाहरू करिब ४० जात भन्दा बढी पाइएको र तीमध्ये फिलिबोटोमस आरजेन्टिपस सेन्ड फ्लाई भुसुना यस रोगको कीटाणु रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

यी भुसुना झुपडी घरहरूमा, माटो र गोबरले लिपेको भित्ता चर्केको, घुर्घुरेले माटो उठाएको, फोहोर थुपारेको ओसिलो ठाउँ, मुसाले प्वाल पारेको, गोबरको गुइँठा बनाएर चाङ पारेर राखेको, गाई भैंसीको गोठ आदिमा बस्ने र त्यहीँ फुल पार्ने उनको भनाइ छ । एक पटकमा भुसुनाले ५० देखि १ सय ओटा सम्म फुल पार्दछ ।

यो रोगको सङ्क्रमण काल करीब १० दिन देखि २ वर्षको हुने स्वास्थ्यकर्मी बताउँछन् । दुई वा दुई हप्ता भन्दा बढी समयसम्म मन्द ज्वरो आइरहने, अनियमित ज्वरो आउने, खान मन नलाग्ने, दुब्लाउँदै जाने, कमजोरी हुने, तौल कम हुने, फियो बढ्ने, कलेजो बढ्ने, रक्तअल्पता हुने, शरीरको रङ फुस्रो देखिने तथा हातखुट्टा अनुहार र शरीरको छाला कालो हुँदै जानु कालाजार रोगका लक्षणहरु रहेको स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर अधिकृत वेदप्रसाद घिमिरे बताउँछन् ।

उनले कालाजारका यी लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर स्वस्थयकर्मीसँग परामर्श गरी सही उपचार गर्न समेत स्थानीयलाई आग्रह गरेका छन् । बेलैमा उपचार गरे यस रोगबाट बच्न सकिने उनले बताए । यो रोग सबै उमेर समूहका मानिसमा हुन सक्ने भए पनि प्रायः १५ वर्ष माथिका पुरुषमा बढी पाइएको छ । महिलाहरुले शरीर ढाक्ने गरी कपडा लगाउने र पुरुषले शरीरका धेरै भाग खुला राखेका कारण महिलाको तुलनामा पुरुष बढी बिरामी भएकोस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो रोगबाट बच्नको लागि व्यक्ति तथा वातावरणीय सरसफाइ गर्ने, झुलको प्रयोग गर्ने, किटनाशक बिषादी छिटकाउ गर्ने, रोगीको खोजपडताल तथा शीघ्र निदान गरी उचित उपचार गर्ने, स्वास्थ्य शिक्षा दिने आदि जस्ता विभिन्न विधि अवलम्बन गर्न सकिने स्वास्थ्यकर्मी बताउँछन् ।