भोजपुरः भोजपुरमा पहिरोबाट १ सय घरपरिवार विस्थापित भएका छन् । केही दिनअघिको वर्षाका कारण पहिरोले घर पूर्ण तथा आंशिक क्षति हुँदा ती परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

विस्थपित भएकाहरू पाल टाँगेर तथा छिमेकीको घरमा रात काट्न बाध्य छन् । विस्थापितमध्ये भोजपुर नगरपालिकामा १४, टेम्केमैयुङ गाउँपालिकामा २६, पौवादङ्मा गाउँपालिकामा २, आम्चोक गाउँपालिकामा ४४, रामप्रसाद राई गाउँपालिकामा ९, अरुण गाउँपालिकामा १, हतुवागढी गाउँपालिकामा ३ र साल्पासिलिछो गाउँपालिकामा १ परिवार रहेका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा १६ घर पूर्ण रूपमा क्षति भएका छन् भने ५८ घरमा आंशिक क्षति पुगेको छ ।

पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ गाउँपालिकामा १ जना गरी जम्मा ५ जनाको ज्यान गएको छ । ३ जना घाइते छन् । प्रमुख जिल्ला अधिकारी खतिवडाले स्थानीय तहहरूलाई आफ्नो आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरी पठाउन पत्राचार गरिएको बताएका छन् । क्षतिको विवरण आउने क्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृतकका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत दिने नेपाल सरकारले घोषणा गरेको छ । घाइतेलाई राज्यले निःशुल्क औषधोपचारको व्यवस्था गरेको छ । त्यस्तै पूर्ण रूपमा घर क्षति भएका परिवारलाई १० हजार र आंशिक क्षति भएकालाई ५ हजार रुपैयाँ राहतस्वरुप दिने प्रावधान छ ।

बाढीपहिरोको जोखिममा परेर बस्नै नसक्ने अवस्था हुँदा अथवा अर्को घर बनाउनुपर्ने बाध्यता भएमा विशेष निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको प्रजिअ खतिवडाले बताएका छन् ।