काँकरभिट्टाः झापाको मेचीनगरमा जारी जेसीज सप्ताह अन्तर्गत आज तनाव व्यवस्थापनका विषयमा तालीम सम्पन्न भएको छ । नेपाल जेसीजको निर्णयअनुसार मेचीनगर लेडी जेसीजले यो वर्ष जेसीज सप्ताहलाई तालीम सप्ताहका रूपमा मनाइरहेको छ ।

मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक राजबाबु साहले समयमै तनाव व्यवस्थापन गर्न नसके मानिसले अनेक समस्या बेहोर्नुपर्ने बताए । तनावकै कारण पनि धेरैको मृत्यु हुने गरेको उनले बताए ।

दैनिक जीवनलाई अझै उत्पादनशील क्षेत्रमा लगाउन हरेक मानिस तनावमुक्त हुनुपर्ने र तनाव व्यवस्थापनतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । दैनिक जीवनमा प्रशंसा र कृतज्ञता प्रकट गर्न मात्रै सके पनि तनावलाई केही हदसम्म व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो ।

संस्थाकी अध्यक्ष मञ्जु भण्डारी खनालको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मानिसले तनावलाई व्यवस्थापन गर्न सके धेरै रोगबाट मुक्ति पाउने बताए ।

कार्यक्रममा नेपाल जेसीज क्षेत्र ए की तालीम संयोजक कविता शर्मा, धुलाबारी जेसीजका अध्यक्ष केशव पोखरेल, मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण कनाल, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिना, नेपाल जेसीजका तालीम आयुक्त एकराज गिरी लगायतले बोलेका थिए ।

संस्थाकी महासचिव गीता ओझाले सञ्चालन गरेको उद्घाटन सत्रमा सदस्य उर्मिला पौडेलले आस्थावाचन गरेकी थिइन् । कार्यक्रममा बाहुनडाँगी, भद्रपुर, अर्जुनधारा, भद्रपुर बिर्ता, चारआली जेसीजका पदाधिकारीको सहभागिता थियो ।