इटहरीः इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमसहितको टोलीले पूर्ण अशक्त भएकाहरूलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको छ ।

५ जना पूर्ण अपाङ्गता भएकालाई घरमै गएर परिचयपत्र उपलब्ध गराइएको हो । इटहरी–६ का भरत बस्नेत, इटहरी–२० का सुमन दाहाल, इटहरी–१७ का पर्मेश चौधरी, इटहरी–२ की शकुन्तला चौधरी र इटहरी–८ का जयनारायण भगतको घरैमा पुगेर परिचयपत्र वितरण गरिएको हो ।

परिचयपत्र लिन उपमहानगर कार्यालय आउन नसक्ने भएका कारण घरमै पुगेर परिचयपत्र वितरण गरिएको उपमेयर गौतमले बताइन् । यो कार्यलाई निरन्तरता दिइने जनाएको छ ।

इटहरी उपमहानगरले गत बैशाखदेखि उपमहानगरबाटै अपाङ्गता परिचयपत्र वितरण गर्न थालेको हो । अहिलेसम्ममा ४६ जनालाई रातो, ४२ जनालाई नीलो, २१ जनालाई पहेँलो र २ जनालाई सेतो परिचयपत्र वितरण गरिएको छ ।