पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूह देशकै उत्कृष्ट सामुदायिक वन बनेको छ ।

वन तथा भूसंरक्षण विभागद्वारा गत असार ३१ गतेका दिन आयोजित एक कार्यक्रमका बीच वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सो वनलाई पुरस्कृत गरेका हुन् ।

हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशका २२ हजार सामुदायिक वनलाई पछि पार्दै १ नम्बर प्रदेशमै पहिलो पटक १ लाख रुपैयाँ राशीको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो ।

पुरस्कार पाएपछि वन उपभोक्ता समितिले पत्रकार सम्मलेन गरी पुरस्कारको बारेमा जानकारी गराएको हो । उपभोक्ता समितिका अध्यक्ष काबुल मगरले सो वन २ सय ४५ दशमलव ९४ हेक्टरमा फैलिएको र २०७१ पुसमा उपभोक्ता समितिमा हस्तान्तरण भएको जनाए ।

सो वनले यस अघि पनि गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय सान्त्वना पुरस्कार २०७५, मोरङ जिल्ला वन प्रथम पुरस्कार २०७५, मोरङ जिल्ला वन दोस्रो २०७४ र जिल्ला वन कार्यलयबाट सान्त्वना पुरस्कार २०७३ सालमा हात पारिसकेको छ । कुल १ हजार २८ घरधुरी उपभोक्ता सदस्य रहेको यस वनले गरिबी न्यूनीकरण कार्यक्रमलाई विशेष जोड दिएको छ ।

सो कार्यक्रम सञ्चालन गर्नका लागि वनले आर्थिक वर्ष २०७४÷७५ देखि हरेक वर्ष ५ लाखका दरले थप हुने गरी घुम्ती कोष सहुलियत ब्याजदरमा उद्यमशील उपभोक्ता सदस्यलाई लगानी गर्दै आएको छ । यसका साथै वनले उपभोक्ता सदस्यलाई अन्य सीपमूलक तालीमको समेत अवसर प्रदान गर्दै आएको बताइएको छ ।

सो वनले सामाजिक तथा संस्थागत विकासमा समेत सेवा प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वनले आफ्नो क्षेत्रभित्र चरिचरन, डढेलो, चोरी तस्करी, फोहोरमैला जथाभावी फाल्ने काम पूर्ण रूपमा बन्द गरेको जनाएको छ ।

वन क्षेत्रमा पर्ने १ सय ३० ओटा कङ्क्रिट कपुरथान पूर्ण रूपमा भत्काएर २०७३ सालदेखि वैज्ञानिक वन व्यावस्थापनसम्बन्धी कार्ययोजना स्वीकृत गरी क्रमिक रूपमा कार्य थालनी गरेको जनाएको छ ।