धरानः धरान–१ स्थित धरान आदर्श बोर्डिङले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीका लागि शनिबार धरानस्थित गोरखा डिपार्टमेन्ट स्टोरको हलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
१ नम्बर प्रदेशका विभिन्न ठाउँबाट अध्ययन गर्न आएका विद्यार्थी नयाँ भएका हुनाले विद्यार्थीले पालना गर्नुपर्ने नियम, वर्षभर हुने विभिन्न गतिविधि, विद्यालयको वातावरण, अनुशासन आदिको बारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।
धरान आदर्शले यस वर्षदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षाको साथै आफ्नो देशको संस्कार र संस्कृतिको अबलम्बन गर्दै सामाजिकीकरण कसरी गराउने भन्ने बारेमा विशेष जोड दिइने विज्ञान संयोजक नेत्र सुवेदीले बताए । उत्कृष्ट नतिजा दिँदै देशको योग्य नागरिक तयार गर्न धरान आदर्श लागिपरेको व्यवस्थापन संयोजक दुर्गा सुवेदीले बताए ।
प्रवेश परीक्षामा विज्ञान र व्यवस्थापन सङ्कायमा उत्कृष्ट हुने र एसईईमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै कक्षा ११ को व्यवस्थापन सङ्कायमा भर्ना भएकी मिस एस.ई.ई.(२०१९ की विजेता प्रज्ञा भण्डारीलाई समेत सम्मान गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल रमेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान र व्यवस्थापन सङ्कायका ४ सय जना विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्यद्वय वीरेन्द्र बस्नेत र आशिष मास्केको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीले नृत्यसमेत प्रस्तुत गरेका थिए । शिक्षक अमृता लावतीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक टङ्क भट्टराईले गरे ।