इटहरीः तेह्रथुमको आठराई गाउँपालिकाको संक्रान्ति बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रभित्र पार्टी सञ्चालन गर्ने केन्द्रका प्रमुख डा. सन्तोषप्रसाद साहले सञ्चारकर्मीलाई धम्की दिएका छन् । हाम्रो सवाल अनलाइनका सञ्चालक अमृत बास्तोलालाई उनले धम्की दिएका हुन् ।
‘गलबन्दी च्यातियो...’ को भाकामा बुधबार राति पार्टी र दोहोरी चलेको विषयमा बास्तोलाले समाचार प्रकाशन गरेका थिए । बास्तोलालाई शुक्रबार बिहान ११ बजेर ३ मिनेटमा फोन गर्दै स्वास्थ्य केन्द्रका प्रमुख डा. साहले आफ्नो मानहानि भएको भन्दै आफू चुप लागेर नबस्ने धम्की दिएको बास्तोलाले बताए ।
‘हस्पिटलमा पार्टी सञ्चालन भएको विषयमा बिरामीले केही भनेका छैनन्, पत्रकारले चासो राख्ने’ भन्दै समाचारले आफ्नो बदनाम गरेको हुनाले अब आफू चुप लागेर नबस्ने भन्दै धम्की दिएको बास्तोलाले बताए ।
समाचारको विषयमा छलफल गर्न भन्दै शुक्रबार ११ बजे फोन गरी १० मिनेटभित्र गाउँपालिकाको कार्यालयमा उपस्थित हुन साहले बोलाएको बास्तोलाले बताए । १० मिनेटभित्र उपस्थित हुन नसक्ने बताउँदै समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो रोज्न आग्रह गरेको बास्तोलाले बताए ।