काँकरभिट्टाः झापाको मेचीनगरमा कालाजारका नयाँ रोगी फेला परेपछि सो रोगविरुद्ध नगरपालिकाले विभिन्न वडामा कीटनाशक विषादी छिट्ने कार्यक्रम सञ्चालन गरेको छ ।

नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरी ‘अल्फासाइडफर पाराफोराइड’ नामक औषधि छर्किने अभियान सञ्चालन गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसका लागि ६ जना स्प्रे मेन परिचालन गरिएको शाखा संयोजक शशीकला राईले बताइन् । केही दिनअघि नगरको १५ नम्बर वडामा कालाजारका नयाँ रोगी फेला परेका थिए ।

वैभव टि स्टेट आसपास स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ । यस्ता रोगीको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । अस्पताल भर्ना गरी उपचार गर्नुपरेमा ५ हजार रुपैयाँ छुट तथा यातायात खर्चबापत १ हजार रुपैयाँ रोगीले पाउने छन् ।

त्यसलगत्तै नयाँ रोगी खोज्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । स्वास्थ्यकर्मीको टोलीले कीटनाशक विषादी छिट्ने तथा अन्य रोगीको खोजी गरी उचित उपचार गर्ने र चेतनामूलक स्वास्थ्य शिक्षा दिने व्यवस्था मिलाइएको नगरले जनाएको छ । नगरको ६, १५, ८ लगायतका वडामा कीटनाशक विषादी छिट्ने अभियान सञ्चालन भएको फोरमेन थामबहादुर थापाले जानकारी दिए ।