धरानः पूर्वको एक मात्र रिफरल सेन्टर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकरण भएर पनि बिरामीले सहज डाइलोसिस सेवा पाउन सकेका छैनन् । उपकरण राख्ने स्थान नहुँदा त्यसै थन्किएर राखिएको छ भने बिरामीले सास्ती भोग्नुपरेको छ ।
राज्यले डाइलोसिस गर्नुपर्ने बिरामीका लागि सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको छ । सरकारी अस्पतालमा यसको सुविधा अनिवार्य छ तर दक्षिण एशियाकै उत्कृष्ट मानिएको धरानस्थित बीपी प्रतिष्ठानमा डाइलासिसका लागि पालो पाउनै गाह्रो छ ।
उपकरण थन्किएर बसेका छन् । प्रतिष्ठानले त्यसको व्यवस्थापन गर्न नसक्दा बिरामीले १५ दिनसम्म पालो कुर्नुपर्ने बाध्यात्मक अवस्था रहेको मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीव शर्माको भनाइ छ ।
नियमित डाइलोसिस गर्ने बिरामीले हप्तामा २ पटकसम्म डाइलोसिस गर्नुपर्ने हुन्छ तर उपकरणको अभावमा एक पटक मात्रै उनीहरूले डाइलोसिस गराउँदै आएका छन् । उनका अनुसार मेशिनबाट गरिने हेमोडाइलोसिस सेवा उपकरणको अभावले सुचारु भएको छैन । समयमै सेवा दिन नसक्दा बिरामीले निजी स्वास्थ्य केन्द्रमा महङ्गो शुल्कमा डाइलोसिस गराउनुपरेको उनले बताए ।
उनले भने, ‘उपकरण पर्याप्त छैनन्, बिरामीको चाप बढ्दो छ, कसरी सेवा सहज हुन्छ ?’ अहिलेकै उपकरणहरूबाट १ पटकमा ६ जनाले मात्रै डाइलोसिस गराउँदै आएका छन् । बिरामीको चापलाई मध्यनजर गर्दै उपकरणको व्यवस्थापन गरिनुपर्ने उनले बताए ।
प्रतिष्ठानले नयाँ ८ ओटा डाइलाृसिस मेसिन किनेपछि पुराना ६ वटा थन्क्याएर राखेको छ । प्रतिष्ठानमा नयाँ र पुराना गरी १४ वटा मेसिन छन् । तर थन्किएर रहेका मेसिन राख्ने स्थानको अभावमा व्यवस्थापन गर्न समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीको भनाइ छ । २५ वर्ष अघिको भौतिक संरचनामै सेवा बिस्तार गर्नुपर्ने अवस्था रहेकाले उपकरण भएर पनि व्यवस्थापन गर्न नसकिएको उनले बताए ।
चाँडै दोब्बर क्षमताको डाइलोसिस सेवा बिस्तार गर्ने योजना रहेको उनको भनाइ छ । प्रतिष्ठानमा दैनिकजसो २४ जनाले सेवा पाएका छन् भने ३० जना जति बिरामी सेवाअभावमा फर्किने गरेका छन् । आकस्मिक सेवामा आएका बिरामीले मात्रै डाइलोसिस सेवा पाएका छन् तर ओपीडी र वार्डबाट आएका बिरामीले भने पालो पर्खनुपर्छ ।
मध्य नेपालदेखि भारतको विहारसम्मका बिरामी प्रतिष्ठानमा उपचारका लागि आउने गर्दछन् । आपसी झगडामा फस्दै गएका प्रतिष्ठानका प्रमुख पदाधिकारीको बेवास्ताका कारण स्वास्थ्य सेवाको सहज पहुँचबाट बिरामी वञ्चित हुनुपरेको छ ।