विराटनगरः विराटनगर महानगरपालिका–३ गोग्राहा चोकस्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको धनुषा नेशनल पोलिक्लिनिक वीरेन्द्रबजार धनुषाको ज १ च ११९५ नम्बरको एम्बुलेन्सले पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
ठक्करबाट सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ बस्ने ५५ वर्षीया उर्मिलादेवी झालाई एम्बुलेन्सले ठक्कर दिएको थियो । घाइते झालाई न्युरो अस्पताल विराटनगर उपचार गर्न लगिएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक धनुषाको वीरेन्द्रबजार–१ बस्ने २२ वर्षीय दीपकुमार मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।