धरानः धरानका नगर प्रमुख स्वर्गीय तारा सुब्बाको वार्षिक स्मृति सभामा प्रकाशन गरिएको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ ।

सुब्बाको वार्षिकीको अवसरमा धरान उमपहानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी श्रद्धान्जली समापन तथा तारा सुब्बा स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा उनका सहकर्मीदेखि नेकपाका नेता, साहित्यकार समेतले उनलाई अविचलित नेताको संज्ञा दिए ।

कार्यक्रमका सहभागीले सुब्बाले धरानको विकासमा देखेका सपना पूरा गर्ने प्रतिबद्धता जनाइरहँदा उनका दाजु एजी सुब्बाले मिल्न सके भाइलाई शहीद घोषणा गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले पनि उनलाई अविचलित, निष्ठावान नेता रहेको भन्दै प्रशंसा गरे । सजिलोमा मात्र होइन, अप्ठ्यारामा पनि चम्किने तारा बनेको पोख्रेलले बताए ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पनि सुब्बाको सपना र धरान विकासका योजना सफल पार्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताए ।

धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, सङ्घीय सांसद जयकुमार राई, नेपाली काङ्ग्रेसका नगर सभापति तिलक राई, नेकपाका सुनसरी जिल्ला सचिव रमेश बस्नेतले लगायतले आफ्नो धारणा राखेका थिए ।