पाँचथरः तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्ति बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सञ्चालन गरिएको पार्टीको विषयमा समाचार आएपछि सो घटनाले चर्चा पाएको छ । स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा पार्टी गर्नु र दोहोरी गाउँदै रमाइलो गर्नु गलत भएको तेह्रथुम उद्योग वाणिज्य सङ्घ उपशाखा सङ्क्रान्तिका अध्यक्ष प्रेम पौडेलको राय छ ।

‘स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा पार्टी सञ्चालन गरेर दोहोरी गाउँदै बस्नु कानुनी रूपमा गलत हो,’ फोन सम्पर्कको क्रममा पौडेलले भने ‘स्वास्थ्य क्षेत्रका जिम्मेवार व्यक्तिले नै संवेदनशील क्षेत्रमा यस्तो कार्य गर्नु निन्दनीय हो ।’

आठराई क्षेत्र दुर्गम भएको र चिकित्सक आएर काम गर्न कठिन क्षेत्र भएकाले व्यावहारिक हिसाबमा कतिपय गल्तीलाई औँल्याउन पनि नहुने उनको भनाइ छ । ‘यो क्षेत्रमा चिकित्सक आएर काम गर्नै मान्दैनन्,’ पौडेल भन्छन् ‘उनीहरूलाई खुशी बनाउनका लागि उनीहरूले गरेका गल्तीमा चुप लाग्नुपर्ने बाध्यता छ ।’

प्राथमिक स्वास्थ्य केन्द्रमा अघिल्लो बुधबार राति केन्द्रका प्रमुख डा. सन्तोषप्रसाद साहको नेतृत्वमा पार्टीसहित दोहोरी सञ्चालन भएको थियो । सो समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि घटनाले चर्चा पाएको हो ।

वाणिज्य सङ्घका अध्यक्ष पौडलेका अनुसार आर्थिक वर्षको अन्त्यमा डा. साहले पार्टीको आयोजना गरेका थिए । दिउँसो जनप्रतिनिधिसँग कार्यक्रम राखिएको र साँझमा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई राखेर पार्टी सञ्चालन गरिएको पौडेलले बताए ।