धनकुटाः धनकुटामा एकै परिवारका ३ जना बालबालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा धनकुटा नगरपालिका बडा नम्बर ८ याक्चनाका शङ्खबहादुर राईका ९ वर्षीय छोरा सञ्जीव, ७ वर्षीया छोरी सलिना र ६ वर्षीया छोरी सञ्जिला बेपत्ता भएका हुन् । आइतबार दिउँसो तमोर नदीको बगरमा खेतीमा बाबुआमासँगै गएका बालबालिका बेपत्ता भएका हुन् ।

नदीले बगाएको हुन सक्ने अनुमानमा परिवारले आफन्तको सहयोगमा नदीमा खोजी गरे पनि पत्ता नलागेपछि बुधबार मात्र प्रहरीलाई खबर गरेका छन् । बुधबार नै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदर्शन कोइरालाले बताए ।

बालबालिकाको खोजीका लागि तमोर नदीमा मूलघाट र त्रिवेणी प्रहरी चौकीबाट समेत प्रहरी परिचालन गरिएको छ ।