इटहरीः इटहरीका डेङ्गु सङ्क्रमितहरूको परीक्षण इटहरी अस्पतालमा नै हुने भएको छ । उपमेयर लक्ष्मी गौतमका अनुसार इटहरी अस्पतालमा डेङ्गुको निःशुल्क परीक्षण हुन्छ ।
इटहरीमा विपन्न समुदायका बिरामीलाई स्थानीय सरकारले उपचारमा सहयोग गर्ने पनि उपमेयर गौतमले बताइन् । १ लाख रुपैयाँको स्वास्थ्य बीमादेखि हरेक वडामा २ जनाका दरले २ स्वास्थ्यकर्मीसमेत खटाइएको गौतमले बताइन् ।

बाढी र डुबान हुनुअघि डेङ्गु सचेतनाका बारेमा विभिन्न १० कार्यक्रम गरिएको, विद्यालयका अभिभावक र विद्यार्थीसँग सचेतना कार्यक्रम गरिएको र लार्भा नष्ट गरिएको उमपेयर गौतमले बताइन् । लार्भा नष्ट गर्ने अभियानले ग्यारेजको टायरमा भएको पानीमा जमेको लार्भा हटाउने अभियान चलाएको गौतमले बताइन् ।

बाढीपछि भने डेङ्गुको खतरा पुनः भएकाले फेरि रोकथाम र नियन्त्रणका कार्यक्रम गरिने गौतमले बताइन् । इटहरीमा पछिल्लो समय १५ दिन अगाडि इटहरी–६ को पेरिस टोलमा डेङ्गु सङ्क्रमित भेटिएका थिए । सो टोलका विनोद वाग्लेलाई डेङ्गुको सङ्क्रमण भएपछि १५ जनाभन्दा बढी स्थानीय डेङ्गुबाट सङ्क्रमित भएको सोही टोलका सुरेश वाग्लेले बताए ।