विराटनगरः न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको विस्तारित शाखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलले आमा र बालबालिकालक्षित निःशुल्क स्वास्थ शिविर सञ्चालनमा ल्याएको छ ।
हस्पिटलले ‘स्वस्थ आमा सम्पन्न परिवारः स्वस्थ बच्चा उज्ज्वल भविष्यको आधार’ भन्ने मूल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको जनाएको छ ।
हस्पिटलले पहिलो चरणमा विराटनगरलाई लक्षित गरी शिविर आयोजना गर्दै आएको जनाएको छ । विराटनगरका विद्यालयहरूमा पढ्दै गरेका बालबालिका तथा उनीहरूका आमाको स्वास्थ्यको एकै साथ ख्याल गर्न शिविर सञ्चालनमा ल्याइएको बताइएको छ । गत १ महिनामा मात्रै ६ वटा विद्यालयका बालबालिका तथा उनीहरूका आमाहरूले स्वास्थ्य सेवा लिई लाभान्वित भएका छन् ।
हस्पिटलका संस्थापक तथा वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार बिष्टले देशका कर्णधार बालबालिकाहरू नै भएकाले स्वस्थ समाज निर्माण गर्न स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको बताए ।
सो हस्पिटलले भानु स्कुल, होलिल्याण्ड स्कुल, कान्तिपुर स्कुल, गौतम बुद्ध मेमोरियल स्कुल, देवकोटा स्कुल र मदर टेरेसा स्कुलमा स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको हस्पिटलका कार्यकारी निर्देशक अनिषा बिष्टले जानकारी दिइन् ।
शिविरमा तुलसा हस्पिटलका वरिष्ठ स्त्री तथा प्रशुति रोग विशेषज्ञ रेणुका राठी, वरिष्ठ बालरोग विशेषज्ञ सुरेशप्रसाद साह, छाला रोग विशेषज्ञ डा. सुनिता कार्की, वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुधीर श्रेष्ठ, दन्तरोग विशेषज्ञ मनोज कुमार सरदार र डा. रवि आचार्यले उपचार गरेका थिए ।
भानु मेमोरियल स्कुलका प्राधानाध्यापक महेन्द्र सिटौला शिविरले अभिभावक तथा शिक्षक र विद्यार्थीमा नौलो अनुभूति गराएको बताउँछन् ।
होलिल्याण्ड स्कुलका निर्देशक डा. टुङराज भट्टराई हस्पिटलले समाजप्रतिको उत्तरदायित्वलाई निर्वाह गरेको बताउँछन् । हस्पिटलका निर्देशक राजेश भट्टराई स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताउँछन् ।