इटहरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको टुङ्गो लाग्न सकेको छैन । अध्यक्ष पद लिने कि छाड्ने भन्ने विवादका बीच नेकपामा ध्रुवीकरण बढेको हो ।
केही दिनअघि भएको सर्वदलीय सहमतिअनुसार नेकपाले १७ सदस्यीय समितिमा ८ जना आफ्नो पक्षका मान्छे राख्न सहमति जनाएको थियो । नेकपाको तर्फबाट वार्ता टोलीका सदस्यसमेत रहेका इटहरी नगर सचिव काशीनाथ दङ्गालका अनुसार नेकपाले ८, काङ्ग्रेसले अध्यक्षसहित ६, राप्रपाले २ र सङ्घीय समाजवादी पार्टीको तर्फबाट १ जना सदस्य रहने गरी सहमति भएको थियो ।
तर पछिल्लो समयमा नेकपाभित्र आन्तरिक विवाद बढेकाले पुन सहमतिको प्रयास भइरहेको उनको भनाइ छ । ‘मलाई विश्वास छ पुरानै सहमति कार्यान्वयन हुन्छ,’ उनले भने, ‘समाजका प्रतिष्ठित व्यक्तित्वलाई छानेर पठाएका छौँ । उहाँहरूले काम गर्नुहुन्छ ।’
नेपाली काङ्ग्रेसको तर्फबाट वार्ता समितिमा रहेका विकास केसीले पनि नेकपाको आन्तरिक विवादका कारण लामो समयसम्म सञ्चालक समिति चुन्न नसकिएको बताए । ‘पहिला अध्यक्ष नेकपाले लिने भन्ने कुरा भयो त्यसमा पनि सहमति जनाइयो,’ उनले भने, ‘पछि अध्यक्ष तपाईंहरू नै राख्नोस् भने हामीले त्यो पनि हुन्छ भन्यौं । अहिले हामीलाई नै दिनोस् भन्दैछन् ।’
नेकपाका नेता रेवतीरमण भण्डारीले अध्यक्ष पाउने गरी सहमतिको प्रयास भइरहेको उनले बताए । पहिला भण्डारीले अध्यक्ष लिनेमै सहमति भएको थियो । पछि नेकपाभित्र विवाद बढेपछि छुट्टै वार्ता समिति बन्यो । सो वार्ता समितिले नेकपाले अध्यक्षबाहेक उपाध्यक्षसहित ८ जना सदस्य लिने सहमति ग¥यो ।
अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट पुरानै अध्यक्ष विश्वप्रसाद रिजाल रहने सहमति भयो । तर सो सहमति भएको भोलिपल्ट अर्थात् साउन ९ गते बिहीबार पुन भण्डारीले आफ्नो नेतृत्वमा नेकपाको टिम बनेको बताए ।
उनका अनुसार प्राज्ञिक क्षेत्रमा नेतृत्व गर्न प्राज्ञिक व्यक्ति नै जानुपर्ने हुन्छ । तर इटहरीमा एउटै मान्छेले लामो समय नेतृत्व गरेर कुनै संस्थालाई फाइदा नहुने भन्दै संस्थागत हितकै लागि भए पनि उम्मेद्वारी दिन लागिएको उनको भनाइ छ ।
‘नेपाली काङ्ग्रेससँग पनि यस विषयमा सहमति भइसकेकाले अब मेरै नेतृत्वमा सञ्चालक समिति बन्छ,’ भण्डारीले भने, ‘मलाई रोक्नकै लागि गोप्य सहमति भएको रहेछ । त्यो भङ्ग भइसक्यो अब नयाँ कोर्सले अगाडि बढ्ने हो ।’
दङ्गाल र भण्डारी दुवैको भाषा फरक देखिएकाले नेकपाभित्रको विवाद स्पष्ट भएको छ । दङ्गाल हाल नेकपा इटहरीका सचिव हुन् । उनी नेकपाका स्थायी समिति सदस्य भीम आचार्य निकट मानिन्छन् भने भण्डारी भीम आचार्यका प्रतिद्वन्द्वी मानिन्छन् ।
भण्डारीका अनुसार नेपाली काङ्ग्रेसलाई अध्यक्ष दिने भन्दा पनि आफूलाई अध्यक्ष हुन नदिन र कुनै पनि हालतमा रोक्नको लागि नेकपाभित्रै खेल भइरहेको हो ।
पूर्व सभासद्समेत रहेका भण्डारी एक प्राज्ञिक संस्थाको नेतृत्व गर्न आफू तयार भएको बताउँछन् । प्रदेश सभा सदस्य लीलम बस्नेतको निजी निवासमा बसेको बैठकले भण्डारीले अध्यक्ष पाउने गरी थप ५ जनाको टोली सञ्चालक समितिमा जाने निर्णय भएको बताइएको छ ।