विराटनगरः अन्तर्राष्ट्रिय शिक्षा लिन काठमाडौं वा विदेश नै जानुपर्ने अवस्थाको अन्त्य विराटनगरको मेरिल्याण्ड कलेजले गरेको छ । सो कलेजले बेलायतको युनिभर्सिटी अफ वल्भरह्याम्टनको स्नातक तह (बीबीएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको कलेजले जनाएको छ ।

सो कलेजले ५ वर्षदेखि सो कोर्ष सञ्चालनमा ल्याएको जनाएको छ । सो कलेजका पहिलो ब्याचका विद्यार्थी दीक्षित भइसकेका छन् । कलेजमा अन्तर्राष्ट्रिय स्तरको शिक्षण विधि लेक्चर, ट्युटोरिएल र वर्कशपमा पढाइ हुने कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख विवेक दाहालले जानकारी दिए ।

इनोभेट नेपाल गु्रपको व्यवस्थापनमा सञ्चालित कलेजमा अध्ययन हुने विषयको स्तरीयताको सम्बन्धमा समयसमयमा बेलायतको शिक्षा क्षेत्रको गुणस्तर मापन गर्ने संस्थाले स्थलगत अध्ययन तथा अनुगमन गर्ने गरेको दाहालले बताए । बेलायतमा ८० लाख खर्च गर्दा पाइने शिक्षा सो कलेजमा साढे ६ लाख रुपैयाँ हाराहारीमा पाइने कलेजले जनाएको छ ।

सो कलेजमा भारतको बिहार राज्यबाट पनि विद्यार्थी अध्ययनको लागि आउने गरेका छन् । भारतमा सो कोर्ष पढ्न १६ लाख रुपैयाँ लाग्ने गरेको तर नेपालको विराटनगरमा नै सस्तो र उही गुणस्तरमा शिक्षा पाइने भएपछि कलेजमा भर्ना गरेको भारतको फार्बिसगञ्जका मुराली कात्यान्नले बताए ।

बिहारका साथै भारतकै सिलिगुडीबाट पनि विद्यार्थी आउने क्रम जारी रहेको कलेजले जनाएको छ ।