इटहरीः जनता बहुमुखी क्याम्पसमा जारी सञ्चालक समितिको निर्वाचनबाट विश्वप्रसाद रिजालले उम्मेद्वारी फिर्ता लिएका छन् । हालका अध्यक्षसमेत रहेका उनले पुनः सञ्चालक समिति अध्यक्ष दोहो¥याउने सहमतिसहित मनोनयन दर्ता गराएका थिए ।

केही दिन अगाडि भएको सर्वदलीय सहमतिअनुसार उनी पुनः अध्यक्ष हुने पक्का भएको थियो । तर उक्त सहमतिको विषयमा नेकपाभित्र विवाद भयो । सहमति गरेको नेकपाको टोलीलाई पन्छाउँदै अर्को पक्षले रेवतीरमण भण्डारीलाई अध्यक्ष बनाउने प्रस्ताव अगाडि बढायो । फलस्वरूप नेपाली काङ्ग्रेस, राप्रपा र समाजवादी पार्टीले भण्डारीलाई अध्यक्ष बनाउनेमा सहमति जनायो ।

नेकपालाई अध्यक्षसहित ५ जना सदस्य दिने र काङ्ग्रेसलाई उपाध्यक्षसहित ७ जना सदस्य दिने सहमति भयो । राप्रपाले २ र समाजवादीले १ जना सदस्य पाउने सहमति भएको नेकपाका नेता सुनिल कार्कीले बताए ।

नेकपाले अध्यक्ष पाउने भए पनि नेकपा भित्रैको अर्को समूहले बागी उम्मेद्वारी प्रस्तुत गरेको छ । नेकपाका नेता चन्द्र भट्टराई, सागर सुवेदी, रेवती घिमिरे, काशीनाथ दङ्गाललगायतको समूहले छुट्टै समूहको उम्मेद्वारी दर्ता गराएको छ ।

आज दिउँसो ३ बजे सम्मको लागि मनोनयन फिर्ता गर्ने समय राखिएको निर्वाचन समिति संयोजक गीता पौडेलले जानकारी दिइन् । उनका अनुसार सर्वदलीय अनुरोधका आधरमा ११ बजेको समयलाई बढाएर ३ बजे पुर्याइएको हो ।

१३ जना सदस्यको लागि हुने निर्वाचनमा २७ जनाको उम्मेद्वारी परेको छ । चुनाबपछि ४ जना मनोनित सहित १७ जनाको समिति बन्ने छ । ३ बजे सम्ममा कुनै सहमति नभए १४ गते मंगलबार बिहान ८ बजेदेखि ३ बजेसम्मको लागि निर्वाचनको मिति तोकिएको उनले बताइन् ।